काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोल सन् २०११ की मिस नेवा हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरेकी छन् । लिपि क्विनको नामले पनि चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेकी छन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।
प्रतिभाशाली युवा नेतृ सुनिताले सुरुमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मेयरको आकांक्षीका रुपमा उनले प्रचारप्रसार पनि तीव्र पारेकी थिइन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको एउटा अन्तर्वार्ता सुनेपछि भेट्न बोलाएका थिए । त्यसपछि उनलाई नेकपा एमालेबाट उपमेयरमा उठ्न प्रस्ताव गरिएको थियो ।
विगतमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा पनि काम गरिसकेकी उनी अन्तिम समयमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी हुन् ।
नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाककलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।
नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गरिएको थियो । हुन पनि उनी ठूलो मतअन्तरले उपमेयरमा विजयी भइन् ।
सुनिता डंगोलले ६८ हजार ६ सय १२ मत ल्याइन्। उनले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा दोब्बर बढी मत ल्याइन्। रामेश्वरले २३ हजार ८ सय ६ मत मात्रै पाएका छन् ।