काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ समिति गठन गर्न लागेको छ । वार्षिक साधारणसभा नगरेको आरोपमा महासंघ विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न लागिएको राखेप स्रोतले जनाएको छ ।
साधारणसभाको स्विकृतिका लागि एक÷डेढ वर्ष अघिदेखि निवेदन दिँदा पनि स्विकृति नदिएको र बेनामे उजुरीका आधारमा पदाधिकारीलाई सोधपुछ गर्ने र बयान लिने काम गरिएको नेपाल फुलकन्ट्याक्ट कराते महासंघका एक पदाधिकारीले बताए । ‘हामीले साधारणसभाको स्विकृतिका लागि पटक पटक निवेदन दिँदै आएका छौं । त्यो निवेदनको बेवास्ता गर्दै परिषद्ले बेनामे उजुरीका आधारमा हाम्रा पदाधिकारीलाई सोधपुछ गर्ने र बयान लिने काम गरेको थियो’, ती पदाधिकारीले भने, ‘अहिले विघटन नै गर्न लागेको सुनेर दुःख लागेको छ ।’ उनले कसैको बहकाउमा लागेर महासंघ विघटन गरेर तदर्थ समितिका नाममा आफ्ना आसेपासेलाई ल्याउन खोजिएको आरोप लगाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले फुलकन्ट्याक्ट कराते महासंघका विषयमा छलफल भइरहेको र अहिले नै टुंगोमा नपुगेको बताए । ‘महासंघका विषयमा हामीले छलफल गरिरहेका छौं । विघटन नै गर्ने भन्ने टुंगोमा पुगिसकेका छैनौं’, सदस्यसचिव घिसिङले भने । उनले यसअघि परिषद्बाट गठित छानविन समितिले पनि विघटन गरेर तदर्थ समिति गठन गर्न सुझाव दिएकाले के गर्ने भनेर छलफल भइरहेको बताए ।
राखेपले विभिन्न विवादित संघका विषयमा छानविन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य सम्पन्न श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा सरोज पोखरेल, अर्जुन विक, सुजन खतिवडा र भोजानन्द राई सदस्य थिए ।
छानविन समितिका संयोजक सम्पन्न श्रेष्ठले महासंघका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत प्रशिक्षकहरुसँग छलफल गर्दा महासंघभित्रकै आन्तरिक विवादका कारण काम गर्ने वातावरण नभएको भन्दै विघटनको सुझाव दिएकाले त्यही सुझावलाई मध्यनजर गर्दै नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ कमिटी गठनको प्रतिवेदन बुझाएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका अधिकांश संघको चार वर्षे कार्यकाल सम्पन्न भइसकेको छ । कार्यकाल सकिएका संघले साधारणसभा र अधिवेशनका लागि स्वीकृति मागे पनि दिएको छैन । रोकेर राखेको छ । फुटबल, क्रिकेट, तेक्वान्दोलगायतले भने परिषद्को स्वीकृतिबिनै साधारणसभा र अधिवेशन गरेका छन् ।

Previous Article
भरतपुरको मेयरमा रेनु दाहाल दोस्रोपटक निर्वाचित
Next Article