काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् । लामो समय घरगृहस्थी सम्हालेर बसेकी सिंह गत मंसिरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी हुन् । कांग्रेसको १४औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । उनी दोस्रो पटक राजनीतिमा सक्रिय भएको यही बेलादेखि हो । अन्य निर्वाचनमा पनि उनी श्रीमान् प्रकाशमान सिंहको चुनाव प्रचारमा हिंड्ने गर्दथिन् । चाहे पार्टीको आन्तरिक निर्वाचन होस् वा अन्य राष्ट्रिय निर्वाचनमा नै किन नहोस्, उनी पुग्दा कार्यकर्तामा ठूलो उत्साह थपिन्थ्यो । पार्टीको महाधिवेशन स्थल वा अन्य चुनावी कार्यक्रमा हिंड्दै गर्दा उनको पछिपछि लामै लाइन लागिसकेको हुन्थ्यो ।
१४औं महाधिवेशनमा प्रकाशमान सिंह कांग्रेस सभापतिका आकांक्षी भएपछि सिर्जना सिंह पनि महाधिवेशन प्रतिनिधि बनेकी थिइन्। उनका जेठा छोरा प्रभाशमान सिंह पनि महाधिवेशन प्रतिनिधि छन्। प्रकाशमानले आफ्नै परिवारबाट तीन भोट पाएका थिए । प्रकाशमान कांग्रेस सभापतिमा पहिलो चरणबाटै बाहिरिए। त्यसपछि उनको गठजोड शेरबहादुर देउवासँग भयो। सिंहले देउवालाई सभापतिमा सहयोग गरेका थिए। त्यसैबेलादेखिको गुन सभापति देउवाले यसपालि सिर्जनालाई मेयरको उम्मेदवार बनाएर तिरेको चर्चा पनि चलेको छ।
देउवाले पार्टीले पाएका तीन महानगरमा उम्मेदवार तय गर्दा सम्बन्धित जिल्लाका नेताहरूसँग परामर्श गरेका थिए। काठमाडौं उपत्यकाको कांग्रेस संगठनमा प्रकाशमानको पकड छ। कांग्रेस काठमाडौं महानगर कार्यसमिति आफ्नो पक्षकाले जितेकाले पनि सिर्जनालाई यसपालि मेयरको उम्मेदवार बन्न थप सजिलो भएको थियो।
महानगर सभापति नीलकाजी शाक्य, सचिव सुसन वैद्य, ०७४ मा उपमेयर जितेकी हरिप्रभा खड्गी श्रेष्ठ, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम मेयरमा सिफारिस भएको थियो। यीमध्ये प्रगतिमान मात्रै सभापति शेरबहादुर देउवानिकटका हुन् भने अरू सबै प्रकाशमान निकट थिए। अधिकांश आकांक्षी एउटै पक्षकाको भएकाले पनि सिर्जनालाई टिकट पाउन सहज भयो । प्रगतिमान बाहेक सबैले सिर्जना सिंहको नाममा सहमति जनाए । एक प्रकारले सर्वसम्मत रुपमा उनी मेयरको उम्मेदवार बन्न पाइन् । अब मेयरमा निर्वाचित भएर आफ्नो दोस्रो इनिङलाई अविष्मरणीय बनाउनु पर्दछ भन्ने आवाज पनि उठ्न थालेको छ ।
सिर्जना गणेशमान सिंहको पारिवारिक विरासतबाट मात्रै भन्दा पनि संगठनमा दुःख गरेर यहाँसम्म आइपुगेको उनको राजनीतिक इतिहासले देखाउँछ। गोरखामा जन्मिएकी उनी कक्षा ९ पढ्दादेखि नै कांग्रेससँग नजिक थिइन्। उनले २०३३ सालमै गोरखाका श्यामकुमार श्रेष्ठको हातबाट पार्टी सदस्यता लिएकी थिइन्। उनी ०३४ सालमा एसएलसी दिएपछि उच्च शिक्षाका लागि उनी काठमाडौं छिरेकी थिइन्। उनको कलेज यात्रा महाबौद्ध क्याम्पसबाट सुरू भएको हो। क्याम्पसमा पढाइलाई निरन्तरता दिइरहेका बेला ०३६ मा देशमा जनमत संग्रह भयो। कांग्रेस सदस्य र महाबौद्धमा नेविसंघमा समेत क्रियाशील रहेकी उनी बहुदललाई जिताउन भन्दै त्यसबेला गोरखा पनि गएकी थिइन्।
कांग्रेसले त्यसबेला बहुदललाई जिताउन भन्दै महिला बहुदल प्रचारप्रसार समिति गठन गरेको थियो, मंगलादेवी सिंहको संयोजकत्वमा। गोरखा पुगेकी सिर्जना यही संगठनमा सक्रिय भइन्। पछि मंगलादेवी सिंहको संयोजकत्वमा नेपाल महिला संघ गठन भयो । सिर्जना १७ वर्षको उमेरमै महिला संघ गोरखाकी अध्यक्ष भइन्। जनमत संग्रहमा बहुदल पक्षले हारेपछि सिर्जना काठमाडौं फर्केर नेविसंघ राजनीति र पढाइमै सक्रिय भइन्।

त्यसबेला महाबौद्ध क्याम्पसमा नेविसंघले इकाइ सभापतिमा सिर्जनालाई नै अगाडि सारेको थियो। नेविसंघको क्याम्पस इकाइ सभापति बनेपछि उनले संगठनमा थप भूमिका पाइन् र सक्रियतापूर्वक निर्वाह गर्न थालिन्।
०३८ सालतिर नेविसंघ सभापति विमलेन्द्र निधि थिए। त्यसबेला वीपी कोइराला बिरामी परेका थिए। नेविसंघले उपचारका लागि देशव्यापी रूपमा आर्थिक सहयोग उठाउने निर्णय गरेको थियो। सिर्जना पनि वीपीलाई उपचार खर्च जुटाउन खटेकी थिइन्।
विमलेन्द्र निधि नेविसंघ सभापति हुँदा वीपीको उपचार खर्च गर्न नेविसंघले चन्दा उठाएको थियो। वीपीलाई चन्दा उठाउने काममा अरू नेविसंघ कार्यकर्ताजस्तै सिर्जना पनि खटेर लागेकी थिइन्।
०३८ सालमै उनले क्याम्पस परिवर्तन गरिन्। महाबौद्धबाट उनको पढाइ अब शंकरदेव क्याम्पसबाट अघि बढ्ने भयो। शंकरदेवमा पनि उनले राजनीति छाडिनन्, झन् संगठनमा काम गर्न थालिन्।
एक वर्षपछि शंकरदेवमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी नेविसंघबाट कोषाध्यक्ष लडेकी थिइन्। त्यसबेला सिर्जना र अखिलकी पम्फा भुसालबीच चुनावी प्रतिस्पर्धा हुँदा सिंहले जितेकी थिइन्। व्यवस्थापनमा सिंहले स्नातक सकेकी थिइन्, त्यसैबेलातिर उनको भेट नवीन्द्रराज जोशीसँग भयो। जोशी र सिंह राजनीतिक रूपमा नजिकिएका पनि थिए।नवीन्द्रराजको दोस्ती भने प्रकाशमान सिंहसँग थियो। उनी चाक्सीबारी गइरहन्थे। चाक्सीबारीमा प्रकाशमानको बिहेका कुरा उठ्ने गरेको जोशीले सुनेका थिए।
प्रकाशमान र सिर्जनाबीच विवाह हुनुमा नवीन्द्रराजको पनि समन्वयकारी भूमिका थियो। दुवैतर्फका परिवारबीच लामो समय कुराकानी भएपछि ०४२ को फागुनमा प्रकाशमान र सिर्जनाबीच विवाह भएको थियो। प्रकाशमान भने त्यसबेला काठमाडौं कांग्रेसको राजनीति गर्थे। उनले जिल्ला सचिव र लामो समय काठमाडौं कांग्रेस सभापति भएर काम पनि गरेका थिए।
सानैदेखि राजनीतिमा चासो राख्ने र संगठनमा काम गरेकी सिर्जना विवाह गरेर चाक्सीबारीमा छिरेपछि भने राजनीतिमा ओझेल परेकी थिइन्। उनले ०४६ सालको जनआन्दोलनताका चाक्सीबारीमा कांग्रेसलगायत विभिन्न पार्टीका नेता÷कार्यकर्तासँग घुलमिल हुने मौका पाएकी थिइन्।
सक्रिय राजनीतिमा नरहेकी सिर्जनालाई ०५० देखि नै नेपाल महिला संघ काठमाडौंको सल्लाहकार बनाइएको थियो। त्यसबेलादेखि अहिलेसम्म पनि महिला संघको उनी सल्लाहकार छिन्। त्यही महिला संघले गत चैत १४ मा पहिलो पटक काठमाडौंको मेयरमा सिर्जना उपयुक्त भन्ने निर्णय गर्दै पार्टीमा पहल गर्ने बताएको थियो। सिर्जनालाई मेयरका लागि माहोल बनाउने काम महिला संघ र नेविसंघ काठमाडौंले गरिदियो भने प्रकाशमानको पहलमा सभापति देउवाले उनलाई मेयरको टिकट दिएका हुन्।
उम्मेदवारी दर्ता गरेपछि सिंहले यो बीचमा आफूले राजनीति नछोडेको बताइन्। ‘मैले राजनीति छोडेकी थिइनँ, पदमात्र नलिएकी हुँ’, उनले भनिन् । ‘म काठमाडौंमा रातभर एक्लै हिँडेर देखाउँछु । मेयर भए गृहिणीलाई भत्ताको व्यवस्था गर्छुु ।’
सिंहले आफू मेयर भएपछि काठमाडौंलाई सुरक्षित सहर बनाउने घोषणा गरेकी छन् । उनले काठमाडौंमा महिलाले अहिले पनि साँझ–बिहान काम गरेर खान पाउने अवस्था नरहेको बताइन् । ‘काठमाडौं देशको राजधानी हो । तर, यो अझै पनि सुरक्षित छैन । साँझ पर्नेबित्तिकै हामी महिलाहरूले हिँड्डुल गर्न सकिँदैन, डराउँदै हिँड्नुपर्ने अवस्था छ । म मेयर भएपछि सबै ठाउँमा सीसीटीभी जोड्छु, त्यहाँ प्रहरी हुन्छन्’, उनले भनिन्, ‘म आफैं काठमाडौंमा रातभर लगाएर एक्लै हिँडेर देखाउँछु । काठमाडौं सुरक्षित छ, महिला दिदीबहिनीहरू घरबाट बाहिर आउनुस् भनेर देखाउँछु ।’
काठमाडौं महानगरपालिकाको प्रमुख बन्नका लागि आफ्नो एजेन्डा र भिजनले मात्रै पुग्दैन । आफ्ना प्रतिद्वन्द्वी केशव स्थापितका विवादका शृंखला पनि उजागर गर्नु जरुरी छ । काठमाडौंका आम मतदातालाई केशव स्थापित कस्ता व्यक्ति हुन् भनेर चिनाउन उनको मुकुन्डो उतार्न पनि पर्दछ ।

नेपालमाला
