काठमाडौं : माओवादी जनयुद्ध गरिव तथा सर्वहारा जनताको उत्थानका लागि भएको थियो कि नेताहरुलाई सत्तामा पु¥याउनका लागि भएको थियो भन्ने बहस एउटा पाटो हुन सक्छ । अर्को पाटो चाहिँ १० वर्षे जनयुद्धबाट जनताले चाहिँ के पाए ? हत्या, हिंसा र आतंक मच्चाएर सर्वहारा जनताको मुक्तिको नारा घन्काएको माओवादीले साच्चिकै सर्वहाराको उत्थान ग¥यो त ? यी र यस्ता प्रश्नको सामना माओवादीले सदैव गरिरहनु पर्नेछ ।
अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ माओवादी नेताको विलासिता र सम्पन्नता पनि हो । १०/१२ वर्षअघिसम्म चप्पल पड्काउँदै हिंड्ने माओवादी नेताका आलिसान महल ठडिएका छन् । करोडौं मूल्यको गाडीमा सवार भइरहेका छन् । उनीहरुले नारा घन्काएका सर्वहारा जनता झन्झन् गरिव हुने र उनीकै नाम भजाएर सत्तामा पुगेका नेताहरु भने विलासितामा भुल्ने गरेका छन् ।
यही विलासिता र सामन्तवादको छेस्को नेपाली खेलकुदमा पनि छिरेको छ । एक दशकअघिसम्म जंगललाई सर्वश्व ठान्ने माओवादी नेता कार्यकर्ता अहिले कतिसम्म विलासितामा भुलेका छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला उर्फ ज्वाला बनेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का विभाग र शाखाहरु अहिले धमाधम नयाँ प्रशासनिक भवनमा सरिरहेका छन् । भूकम्पपछि लामो समय दशरथ रंगशालाको प्यारापिटमुनि बसेका विभाग र शाखाहरु नयाँ भवनमा सर्न थालेका हुन् । नयाँ भवनमा सबैभन्दा पहिले प्रचारप्रसार शाखा सरेको थियो भने त्यसपछि उपाध्यक्षको सचिवालय नयाँ भवनमा सरेको थियो । नयाँ भवनमा उपाध्यक्षका लागि दोस्रो तल्लामा कार्यकक्ष छुट्याइएको थियो । उक्त स्थान उपयुक्त नभएको भन्दै ज्वाला सदस्यसचिवका लागि तयार पारिएको कार्यकक्षमा बसेका थिए । निमित्त सदस्यचिव कुलबहादुर थापाको ग्रिन सिग्नलमा सदस्यसचिवको कार्यकक्ष कब्जा गरेका उपाध्यक्ष ज्वालाले अहिले भने त्यो कार्यकक्ष छाड्नु पर्ने भएको छ । सर्वोच्च अदालतले रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरेपछि चार महिनापछि फर्किएका सदस्यसचिव टंकलाल घिसिङले सदस्यसचिवका लागि तयार पारेकै स्थानमा बस्ने अड्डी कसेपछि ज्वाला त्यहाँबाट लखेटिनु परेको हो । ज्वालाले सदस्यसचिवको कार्यकक्ष छाड्न राजी भए पनि उनको सदस्यसचिवले चढ्दै आएको गाडी भने अहिलेसम्म फिर्ता गरेका छैनन् । उनी अहिले पनि त्यही गाडीमा हुइँकिँदै आएका छन् ।

सदस्यसचिवका लागि तयार पारेको कार्यकक्ष जबरजस्ती कब्जा गरेका उनी त्यहाँबाट हट्नु पर्ने भएपछि उनले नयाँ अड्डी थापे । आफ्नो कार्यकक्षलाई थप विलासितापूर्ण र झकिझकाउ बनाउनुपर्ने माग सदस्यसचिव सामु राखे । एउटै पार्टीका टंकलाल घिसिङले पनि उनको कुरामा सहमति जनाए । त्यसपछि भर्खरै निर्माण कम्पनीले परिषद्लाई बुझाएको भवनमा हथौडा चलाउन सुरु भयो । कर्पोट राखेर चिटिक्क पारिएको कार्यकक्ष भत्काउन थालियो । पहिले बनेका संरचनालाई हटाएर भव्य कार्यकक्ष बनाउन थालियो ।
उपाध्यक्षको कार्यकक्षलाई झकिझाउन पार्ने काम अहिले जोडतोडले चलिरहेको छ । पुराना संरचना भत्काउने र नयाँ संरचना बनाउने काम धमाधम भइरहेको छ । उपाध्यक्षको कार्यकक्षलाई झकिझकाउन बनाउन फल्स सिलिङलगायतका महंगो काम गर्न थालिएको छ । ‘उपाध्यक्षज्यूको कार्यकक्षलाई झकिझकाउन बनाउन थालिएको छ । यसका लागि पुरानो संरचना भत्काएर नयाँ संसरचना बनाउन थालिएको छ’, परिषद्का एक कर्मचारीले भने, ‘आफूलाई सर्वहारा बताउने माओवादीको भनाइ र गराइमा कत्तिको भिन्नता रहेछ भनेर यसबाट पनि बुझ्न सकिन्छ । भर्खरै बनेको भवनमा फेरि लाखौं रुपैयाँ खर्च गर्न थालिएको छ ।’

उपाध्यक्ष कार्यकारी पद होइन । आफ्नै पार्टीका मन्त्री महेश्वरजंग गहतराजले उनलाई नियम विपरीत केही अधिकार दिएका छन् । त्यसैलाई उनले के–के न भन्ने ठानेका छन् । ज्वालाको रवाफ र लावालस्कर हेर्दा कार्यकारीभन्दा कम छैन । सदस्यसचिवकै गाडी खोसेर चढ्दै आएका उनले गाडीभरि केही विवादित व्यक्तिलाई बोकेर हिंड्ने गरेका छन् । ज्वालाले उनीहरुलाई खाजा खुवाउन पनि राम्रै बजेट लिने गरेको परिषद्मा चर्चा छ । उनको यो रवाफलाई धेरैले सदस्यसचिव हुने रहरका रुपमा हेर्ने गरेका छन् ।

नेपालमाला
