काठमाडौं : रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१– १७, २१–१० ले पराजित गर्दै उपाधि जितेका हुन् । एपीएफका दीपेश धामी र आर्मीका प्रफुल महर्जनले तेस्रो स्थान हात पारे ।
यसैगरी महिला एकलको भिडन्तमा रशिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१८ ले पराजित गर्दै उपाधि जितिन् । महिला एकल भिडन्तमा आर्मीकी प्रार्थना देउवा र एपीएफकी जेशिका गुरुङले तेस्रो स्थान हात पारे । प्रतियोगिताको उपाधि विजेताले एक लाख १५ हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी उपविजेताले ५५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार पाए ।
पुरुष युगलमा रिभाइभ लिजर पार्कका प्रिन्स र आर्मीका नवीनको जोडीले उपाधि जिते । प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८–२१, २१–९, २१–१८ को सेटमा पराजित गरे । एपीएफका दीपेश धामी र विजित थापा मगर एवं कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले तेस्रो स्थान हात पारे । पुरुष युगलतर्फका विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार पुरस्कार प्राप्त गरे ।
यू–१५ पुरुष एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९, २१–१७ को सेटमा हराउँदै उपाधि पक्का गरे । स्पोर्ट्स हबका सुनिल कार्की र उदयपुरका रुमुहाङ राईले तेस्रो स्थान हात पारे । यू–१९ पुरुष एकलमा आर्मीका सन्तोष पनेरुले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१२, १९–२१, २१–१७ ले हराउँदै उपाधि जिते । यू–१९ महिला एकलमा आर्मीकी पार्थना देउवाले आर्मीकै रोज पाण्डेलाई २१–१९, १३–२१, २१–१४ ले पराजित गरिन् । यू–१५ महिला एकलमा आर्मीकी रोज पाण्डेले बीबीएकी रोजी राईलाई २१–६, २१–१० ले हराउँदै उपाधि जितिन् ।
यू–१५ पुरुष र महिलातर्फका विजेताले १० हजार, दोस्रोले पाँच हजार र तेस्रो हुने खेलाडीले तीन हजार नगद पुरस्कार पाए । यू–१९ को पुरुष र महिलातर्फका विजेताले १५ हजार, उपविजेताले सात हजार र तेस्रोले तीन हजार पाँच सय पुरस्कार पाए ।
Previous Article
यस्तो रह्यो कांग्रेसको एक महिने चुनावी अभियान
Next Article

नेपालमाला
