काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको बताए । ‘सिफारिसलगायतका सबै काम गरे पनि रामबहादुर, श्यामबहादुर भनेर उम्मेदवार नै चाहिँ नतोक भनेका हौं’ उनले भने, ‘केन्द्रले अर्को निर्णय नगर्दासम्म नतोक भनेका छौं ।’
नेपाली कांग्रेसको विधान अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्नेछ ।
नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्नेछ ।