काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । गत मंसिरमा सन्दीपले राष्ट्रिय टोलीको कप्तानी सम्हालेयता नेपालले पहिलो शृंखला जितेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले शृंखला जितेको हो ।
एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १६.१ ओभरमा एक सय १८ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका सेसे बौउले अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । आक्रामक ब्याटिङ गरेका उनले ३८ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ५९ रन बनाए । चाल्र्स अमिनीले १५ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पपुवा न्युगिनीलाई धराशयी बनाउन दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले १८ रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारे । यसैगरी करण केसीले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल खडा गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनको अर्धशतकीय पालि खेले । अविजित रहेका उनले ३८ बलमा पाँच चौका हिर्काए ।
दीपेन्द्र टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि बने । पपुवा न्युगिनीविरुद्ध २१ रन बनाउँदै उनले एक हजार रनको आँकडा पूरा गरेका हुन् । उनले खेलेका ३९ खेलमध्ये ३४ पालिमा एक हजार रन पूरा गरेका हुन् । दीपेन्द्रले टीट्वेन्टी क्रिकेटमा एक शतक र पाँच अर्धशतक बनाएका छन् ।
त्रिकोणात्मक टीट्वेन्टी शृंखलामा दीपेन्द्रले दुई सय ५५ रन बनाएका थिए । उनले मलेसियाविरुद्द टीट्वेन्टी क्रिकेटमा करियरकै पहिलो शतक बनाएका थिए । उनले समूह चरणमा मलेसियाविरुद्धको दोस्रो खेलमा अविजित एक सय १० रन बनाएका थिए । यस्तै मलेसियाविरुद्धको पहिलो खेलमा २१ रन जोडेका थिए । यसैगरी पपुवा न्युगिनीविरुद्धको उद्घाटन खेलमा चार रन मात्रै बनाएका दीपेन्द्रले दोस्रो खेलमा ६६ रन बनाएका थिए ।
नेपाललाई मध्यम योगफलतर्फ डो¥याउन करण केसीले आक्रामक ब्याटिङ गर्दै अविजित ३३ रन बनाए । उनले १२ बलमा एक छक्का र पाँच चौका हिर्काए । यस्तै आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद अदिल आलमले १५ रन बनाए । पपुवा न्युगिनीका सेमो कामेअले तीन विकेट लिए । यस्तै चाड सोपर, काबुअ मोरेअ र रिले हेकुरेले एक÷ विकेट हात पारे ।
टीट्वेन्टी क्रिकेटमा नेपालको यो लगातार छैटौं जित हो । गत महिना ओमानमा भएको टीट्वेन्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेपछि नेपालले हार बेहोरेको छैन । घरेलु मैदानमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालले समूह चरणका चार वटै खेलमा पनि जित निकालेको थियो ।
दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको प्लेयर अफ दी सिरिज चुनिए । त्रिकोणात्मक शृंखलामा उनले पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित दुई सय ५५ रन जोड्दा सात विकेट पनि लिएका थिए । यसैगरी करण केसी प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भए । उनले पाँच खेलमा १३ विकेट लिए ।
Previous Article