काठमाडौं : जावलाखेल युथ क्लबले रेलिगेसनको खतरा टारेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणको खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै जावलाखेलले रेलिगेसनको खतरा टारेको हो ।
जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ । जावलाखेल लिगको १०औं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाको पनि १२ खेलमा १३ अंक छ । हिमालयन शेर्पाले पनि रेलिगेसनको खतरा टारिसकेको छ । च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा हुँदा ब्रिगेड ब्वाइज, फ्रेन्ड्स र नेपाल पुलिस क्लब रेलिगेसन टार्न संघर्षरत छन् । ११ खेलमा सात अंक जोडेको ब्रिगेड १३औं स्थानमा छ । यसैगरी १२ खेलमा १० अंक जोडेको फ्रेन्ड्स १२औं र ११ खेलमा ११ अंक नै जोडेको पुलिस ११औं स्थानमा छ । ‘ए’ डिभिजन लिगबाट दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । च्यासल एक खेल अघि नै रेलिगेसनमा पर्दा ब्रिगेड, फ्रेन्ड्स र पुलिस रेलिगेसन टार्न संघर्ष गरिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयन शेर्पालाई २–१ गोलले हरायो । जावलाखेललाई जित दिलाउन रुपबहादुर लामा र ओन्गुना जुनियरले एक÷एक गोल गरे । हिमालयन शेर्पाका अमृत श्रेष्ठले एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । ७१औं मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए । त्यसपछि ८८औं मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।
जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले रेलिगेसन टार्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘१२औं खेलमा आएर रेलिगेसनबाट बच्न सफल भयौं । हामी रेलिगेसनमा पर्दैनौं भन्नेमा विश्वस्त थियौं र ‘ए’ डिभिजनमै टिक्न सफल भयौं’, प्रशिक्षक केसीले भने ।
एनआरटीसँग मनाङ स्तब्ध
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा न्युरोड टिम एनआरटीले आठ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले हरायो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । खेलको २६औं मिनेटमा मेसुकेले गरेको गोल नै एनआरटीलाई तीन अंक दिलाउन पर्याप्त बनेको थियो । दर्शन गुरुङको फ्रिकिक बललाई नियन्त्रणमा लिँदै मेसुकेले गोल गरेका थिए ।
जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोडेको छ । एनआरटी लिगको दोस्रो स्थानमा पनि उक्लिएको छ । मनाङ मस्र्याङ्दीले पनि १२ खेलमा २० अंक जोडेको छ । मनाङ मस्र्याङ्दी एनआरटीसँगको हेड टु हेडमा तेस्रो स्थानमा झरेको छ ।

नेपालमाला
