गोपाल भण्डारी नेपाली खेलकुदमा नयाँ र नौलो नाम होइन । नेपाली खेलकुदमा लामो समय बिताएका उनी तेक्वान्दोका कुसल खेलाडी, प्रशिक्षक र निर्णायक पनि हुन् । गोपालले तेक्वान्दोबाट आफूलाई खेलकुदमा स्थापित मात्र बनाएनन्, नयाँ पुस्ताका लागि मार्गदर्शक पनि बनेका छन् । सल्यानको शितलपाटी डोजाङबाट तेक्वान्दोमा होमिएका गोपालले करिब दुई दर्जनभन्दा बढी मुलुकमा पुगेर आफूलाई प्रमाणित गरिसकेका छन् । खेलाडी, प्रशिक्षक र निर्णायकमा उनले अन्तर्राष्ट्रिय स्तरमै आफूलाई स्थापित गराइसकेका छन् । हाल अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गर्न लागेका भण्डारीसँग नेपाली खेलकुदका समसामयिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :
तपाईं तेक्वान्दो खेलमा कसरी जोडिनु भयो ?
म सानैदेखि खेलकुदमा रुची राख्थें । मार्सल आर्ट्समा चाहिँ अलि बढी नै रुची थियो । मार्सल आर्ट्स सम्बन्धी फिल्महरु पनि हेर्ने गर्थें । यसले पनि मार्सल आर्ट्सप्रति अझ रुची बढायो । सानोमा आफ्नो रहर र रुचीलाई दबाएर राखे पनि विद्यालय तहबाटै खेलकुदमा जोडिन पाएँ ।
मेरो तेक्वान्दो यात्रा करिब १८ वर्ष पहिलेबाट सुरु भएको हो । सल्यानको शितलपाटी डोजाङबाट मैले तेक्वान्दो सुरु गरेको हो । त्यहाँ दुई वर्षजति खेलें । त्यसक्रममा विभिन्न प्रतियोगिताहरुमा पनि सहभागिता जनाएँ र पदक पनि जित्न सफल भएँ । तत्कालिन समयमा देशमा भइरहेको माओवादी द्वन्द्वका कारण केही समय स्थगित पनि गर्नुपरेको थियो । त्यसपछि काठमाडौं आएर उच्च शिक्षा अध्ययनसँगै तेक्वान्दोलाई पनि अगाडि बढाएँ । त्यसक्रममा विभिन्न डोजाङस्तरीय, जिल्लास्तरीय, उपत्यकास्तरीय र राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएँ र पदक पनि जितें । काठमाडौंकै सीतापाइला तेक्वान्दो डोजाङमा लामो समयसम्म प्रशिक्षकको भूमिका पनि निर्वाह गरें । थुप्रै खेलाडीलाई प्रशिक्षण दिएँ । सन् २०१३ देखि २०१८ सम्म मकाउको याङ मिङ तेक्वान्दो क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरी थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरु उत्पादन गरें । पछि मकाउ तेक्वान्दो संघको विदेश विभाग प्रमुख भएर काम गरें । त्यतिबेला नेपाली खेलाडीहरुलाई मकाउ बोलाएर उनीहरुलाई पहिलो पटक एक्सपोजर दिने काम गरें ।
यसैगरी सन् २०१७ मा दक्षिण कोरियामा सम्पन्न ६२औं अन्तर्राष्ट्रिय मास्टर्स कोर्समा सहभागी भई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षकको लाइसेन्स प्राप्त गर्न सफल भएँ । मकाउ बसाइँका क्रममा जापान, हङकङ, थाइल्यान्ड, क्यानडा र अमेरिकामा पुगेर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएँ । पदक पनि जितें । यसैगरी प्रशिक्षक र निर्णायकको भूमिका पनि निर्वाह गरें ।
एउटा खेलाडी, प्रशिक्षक र निर्णायकका रुपमा नेपाली खेलकुदमा लामो समय बिताउनु भयो । नेपाली खेलकुदको अवस्था पहिले कस्तो थियो र अहिले कस्तो पाउनु भएको छ ?
पहिलेभन्दा अहिले धेरै नै परिवर्तन आएको छ । समय अनुसार जति सुधार हुनुपर्ने हो त्यति हुन सकेको छैन । खेलकुदमा राजनीति हावी भएका कारण क्षमतावान व्यक्तिहरुले अवसर पाउन सकेका छैनन् । तर, अन्तर्राष्ट्रिय सहभागिता, प्रशिक्षणका साथै खेलाडीहरुको प्रदर्शनमा भने धेरै नै परिवर्तन आएको छ । हाम्रा खेलाडीहरुले स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । स्वदेशमा पनि विदेशी प्रशिक्षकहरुबाट प्रशिक्षण हुन थालेको छ । यो खुसीको कुरा हो ।
खेलाडी भएर जीवन निर्वाह गर्न कत्तिको सहज छ ?
खेलाडी मात्रै भएर बाँच्न निकै गाहारो छ । पदक जित्दा हाई हाई हुन्छ । खेलाडीको भविष्यका बारेमा भने कसैले सोच्दैनन् । हामी क्षणिक सफलतामा मात्रै रमाइरहेका छौं । यसले गर्दा खेलकुदमै लागेर जीविकोपार्जन गर्न निकै मुस्किल छ । खेलाडीको भविष्यका लागि सरकारले नै विशेष योजनाहरु नल्याएसम्म हामीले यस्तै नियती भोगिरहनु पर्नेछ । हामीले त भौग्यौं भोग्यौं, नयाँ आउने भाइबहिनीहरुले भने यस्तो भोग्न नपरोस् भन्ने कामना मात्रै गर्ने हो ।
यसको मतलब खेलाडीले खेलेरै बाच्न सक्ने अवस्था हामीकहाँ अझै बनिसकेको छैन, होइन त ?
अवश्य पनि छैन । सरकारले अहिलेसम्म खेलाडीका हितका लागि कुनै काम गर्न सकेको छैन । उमेर छउञ्जेल खेलिन्छ । त्यसपछि न राज्यले वास्ता गर्छ न त उसले नै केही काम गर्न सक्छ । खेलकुदबाट अलग भएपछि पछुताउनु बाहेक अरु केही छैन ।
तपाईं विभिन्न देशमा पुगेर त्यहाँको खेलकुदसँग साक्षात्कार हुनुभएको छ । नेपाल र विदेशको खेलकुदको अवस्था कस्तो पाउनु हुन्छ ?
नेपाल र विदेशको खेलकुदमा आकास पातालको भिन्नता छ । विदेशमा प्रविधिमैत्री भौतिक पूर्वाधार, आधुनिक किसिमको प्रशिक्षण हुन्छ । नेपालमा भने पुरानै ढर्राबाट प्रशिक्षण हुँदै आएको छ । खेलकुद पूर्वाधारको अवस्था त सबैले देखेकै छौं । त्रिपुरेश्वरमा रहेको एउटा कभर्डहलमा दर्जनौं खेलको प्रतियोगिता गर्नुपर्ने अवस्था छ । त्यहाँ प्रशिक्षण गर्नुको त परको कुरा । यसको मतलब खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । राज्यले लगानी गरे मात्रै खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफूलाई अब्बल सावित गर्न सक्छन् । हामी पुरानै प्रशिक्षण विधि, जीर्ण पूर्वाधार र उहिलेदेखिको डाइट खाएर प्रशिक्षण गरिरहेका छौं ।
सरकारले सबैभन्दा पहिले खेलकुदलाई प्राथमिकतामा राख्नु पर्दछ । खेलकुद क्षेत्र राज्यको प्राधमिकतामा प¥यो भने प्रविधिमैत्री पूर्वाधार निर्माण हुन्छ । खेलाडीका भविष्यका विषयमा पनि पहलहरु थालनी हुन्छ । त्यसपछि खेलकुद क्षेत्रले अवश्य पनि फड्को मार्नेछ ।
नेपाली खेलकुदलाई पनि विदेशकै जस्तो प्रविधिमैत्री बनाउन के गर्नुपर्छ ?
त्यसका लागि सरकारले सबैभन्दा पहिले खेलकुदलाई प्राथमिकतामा राख्नु पर्दछ । खेलकुद क्षेत्र राज्यको प्राधमिकतामा प¥यो भने प्रविधिमैत्री पूर्वाधार निर्माण हुन्छ । खेलाडीका भविष्यका विषयमा पनि पहलहरु थालनी हुन्छ । त्यसपछि खेलकुद क्षेत्रले अवश्य पनि फड्को मार्नेछ ।
हामी के कारणले विदेशीहरुभन्दा पछि परिरहेका छौं ?
सबैभन्दा पहिले हामीकहाँ पूर्वाधारकै अभाव छ । खेल्दाखेल्दै कहिले मरियला भन्ने थोत्रा भवनमा प्रशिक्षण गर्नुपर्छ । ती भवनमा न आधुनिक खेल उपकरणहरु छन् न त प्रविधिमैत्री प्रशिक्षण नै हुन्छ । यसका लागि सबैभन्दा पहिले प्रशिक्षणलाई प्रविधिमैत्री बनाउनु पर्छ । यसो भनिरहँदा मैले सरकारको विरोध गरेको होइन, तर, कहिँ न कहिँबाट सरकारको दोष देखिहाल्छ । सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न नसकेकै कारण यी विषयहरु आइरहेका हुन् ।
यसको मतलब नेपाल र विदेशमा पूर्वाधार र प्रशिक्षण पद्धतीमा निकै भिन्नता छ ?
अवश्य पनि धेरै नै भिन्नता छ । विदेशमा आधुनिक तरिकाबाट प्रशिक्षण हुन्छ । कुन खेलका खेलाडीलाई कस्तो किसिमका डाइट आवश्यक छ । कुन कुन कुरा कति पटक खानुपर्छ भन्ने नियमित तालिका बनाएको हुन्छ । तर, हामीकहाँ सबै खेलका खेलाडीले खाने भनेकै चना र एउटा अण्डा हो । कुन खेलका खेलाडीले के खाने भन्ने योजना नै छैन । अर्थात भारोत्तोलन, बक्सिङ, बडीबिल्डिङ र बुद्धिचालका खेलाडीले समान डाइट खाइरहेका हुन्छन् । विदेशमा यस्तो हुँदैन । कुन खेलका खेलाडीले के खाने, कति पटक खाने भन्ने स्पष्ट तालिका बनाइएको हुन्छ । यसैगरी विदेशमा खेलकुदलाई राज्यले प्राथमिकतामा राखेको छ । उनीहरुको हरेक सेवा सुविधालाई राज्यले हेर्छ । खेलकुदपछि पनि उनीहरुको भविष्य सुनिश्चित हुन्छ । हामीकहाँ रोजीरोटी र जीविकोपार्जनका लागि आफै भौंतारिनु पर्छ । राज्यबाट कहिँ पनि सुविधा पाइँदैन ।
अब हामीले साँच्चिकै नेपाली खेलकुदको विकास गर्ने हो भने के गर्नुपर्छ त ?
सबैभन्दा पहिले खेलकुद सञ्चालनका लागि सही नीति ल्याउनु पर्छ । राष्ट्रिय खेलकुद परिषद्मा आउने व्यक्तिहरु खेलकुद र खेलाडीलाई राम्रोसँग बुझेका हुनुप¥यो । क्षमतावान खेलकर्मीलाई सही स्थानमा अवसर दिनुप¥यो । आधुनिक प्रविधि अनुसार प्रशिक्षणको व्यवस्था हुनुप¥यो । राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई कारवाही गर्ने नीति अवलम्वन गर्नुप¥यो ।
खेलकुदमा राजनीति हावी भएकै कारण हामी पछि परेका हौं र ?
अवश्य पनि हो । नेपाली खेलकुदको विकास र विस्तार चाहने हो भने खेलकुदमा राजनीतिकरण बन्द गर्नुपर्छ । विभिन्न पार्टीका भातृसंगठनहरु खारेज हुनुपर्छ । यसो भयो भने मात्र नेपाली खेलकुदले गति लिन सक्छ ।
तपाईजस्तै सफल खेलाडी बन्न चाहनेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
कुनै पनि क्षेत्रमा सफलता पाउन सबैभन्दा पहिले मेहनत गर्नुपर्छ । हामीले मेहनत गरेर मात्रै पुग्दैन, सबैभन्दा ठूलो कुरा अनुशासित हुनुप¥यो । अनि मात्रै हामीले आफ्नो गन्तव्य निर्धारण गर्न सक्छौं ।
तपाईका अबका लक्ष्यहरु के–के छन् ?
जीविकोपार्जनका लागि विभिन्न पेसा अवलम्वन गरे पनि तेक्वान्दोबाट भने कहिले पनि टाढा हुने छैन । आफूले सकुञ्जेल यही खेलमा समर्पित हुने र ग्रान्ड मास्टर हुने योजना छ । यसका साथै प्रतिभावान र ओलम्पिकमा पनि पदक जित्ने खेलाडी उत्पादनमा निरन्तर रुपमा लाग्नेछु ।
अहिले तपाई केमा व्यस्त हुनुहुन्छ ?
सन् २०१९ को जनरवरीमा स्वदेश फिर्ता भएदेखि काठमाडौंको सीतापाइलामा रहेको सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीहरुलाई निरन्तर रुपमा प्रशिक्षण दिँदै आइरहेको छु । मैले प्रशिक्षण गराएका खलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक पनि जितिरहेका छन् । हाल केही समयदेखि अमेरिकाका विभिन्न प्रतियोगिताहरुमा निर्णायकका रुपमा काम गर्ने अवसर पनि पाएँ । केही प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरें भने केहीमा निर्णायक भएर काम गर्दै आएको छु । यससँगै तेक्वान्दोकै अन्तर्राष्ट्रिय सेमिनारहरुमा पनि सहभागी भइरहेको छु । गत नोभेम्बरमा १६ देखि २२ सम्म अमेरिकाको सिकागोमा सम्पन्न ८०औं अन्तर्राष्ट्रिय मास्टर्स एन्ड एक्जामिनर कोर्स सफलतापूर्व उतीर्ण गरें । साथै गत डिसेम्बर १२ मा अमेरिकाकै न्यु जर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा अफिसियल निर्णायकको भूमिका निर्वाह गरेको थिएँ । यसैगरी अमेरिकाकै टेक्सासमा सन् २०२२ को जनवरी १४ र १५ मा सम्पन्न भएको यूएस मास्टर्स कपमा अफिसियल जर्जरेफ्रीका रुपमा सहभागी भएको थिएँ । यही फ्रेब्रअरी १९ मा भर्जिनियामा हुन लागेको एएयू नेसनल तेक्वान्दो च्याम्पियनसिप र मार्च २६ मा रेस्टन भजिर्नियामा हुन लागेको नेसनल क्यापिटल ओपन तेक्वान्दो च्याम्पियनसिपका लागि पनि अफिसियल निर्णायकमा छनोट भएको छु । साथै यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना पनि बनाएको छु । यसका लागि तयारी पनि गरिरहेको छु ।