बाल्टिमोर: अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो ।
बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । चिकित्सकका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ ।
‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।
अपरेशन गर्नुअघि बेनेटले भनेका थिए– यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो । उनले भनेका छन्, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो ।’