काठमाडौं : मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आठ पटकको विजेता मनाङलाई इन्जुरी समयमा स्तब्ध पार्दै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रलाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरे । उनले इन्जुरी समयमा फ्रिकिकमा गोल गरेका थिए ।
जितसँगै मच्छिन्द्रले एएफसी कपमा छनोट हुने सम्भावना पनि बलियो बनाएको छ । लिगको सातौं चरणको समाप्तीपछि शीर्ष स्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ । लिगको शीर्ष स्थानमा उक्लिएको मच्छिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । ६ खेल नै खेलेको मनाङको १३ अंक छ । तेस्रो स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबको नौ अंक छ । आर्मीले एक खेल कम खेलेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नै शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबलाई ३–१ गोलले पराजित गरेको हो ।
हिमालयन शेर्पाको जितमा मुटम्बा पिस्टन भिन्योलीले दुई तथा सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काएका थिए ।
खेलको २५औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । कमल थापाको लामो पासमा च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले सहजै गोल गरेका थिए । ५७औं मिनेटमा मुटम्बाले नै व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई खेलमा फर्काएका थिए । ८०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयन शेर्पालाई ३–१ को सहज जित दिलाए ।
यस जितसँगै हिमालयन शेर्पाले ६ खेलमा आठ अंक जोडेको छ । हिमालयन शेर्पा तालिकाको छैटौं स्थानमा पनि उक्लिएको छ । ६ खेलमा चार अंक जोडेको च्यासल तालिकाको १३औं स्थानमा छ । हिमालयन शेर्पाका मुटम्बा म्यान अफ दी म्याच चुनिए ।
Previous Article

नेपालमाला
