काठमाडौं : एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो खेलमा बिहीबार श्रीलंकाको सामना गर्ने भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालले बिहीबारबाट सुरु हुने सेन्ट्रल जोनको पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी पाएको हो ।
नेपालले शुक्रबार माल्दिभ्स, शनिबार घरेलु टोली बंगलादेश, आइतबार उज्वेकिस्तान र सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोली बंगलादेश पुगिसकेको छ । नेपाली टोलीमा यस पटक तीन नयाँ खेलाडी छन् । सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको सेन्ट्रल जोनको उपाधि जित्दाको टोलीका अधिकांश खेलाडीले यस पटक पनि खेल्दैछन् ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान र उज्वेकिस्तान छन् । ६ वटै टोलीले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी पुरुषतर्फ भने चार टोलीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तिम समयमा माल्दिभ्सले हात झिकेपछि आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्वेकिस्तानले मात्रै प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले बिहीबार पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपालले शुक्रबार उज्वेकिस्तान र आइतबार श्रीलंकाको सामना गर्नेछ ।

Previous Article
केही भू–भागमा हिमपात, काठमाडौंमा मौसम बदली
Next Article