काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सिलवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बुधबार सिलवाललाई पुनर्बहाली गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्बहाली गर्न आदेश दिएको हो ।
सरकारले गत कात्तिक १ गते सिलवाललाई सदस्यसचिवबाट पदमुक्त गरेको थियो । आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय गैरकानुनी रहेको दाबी गर्दै सिलवालले गत कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं राखेपका निमित्त सदस्यसचिव विष्णुराज ढकाललाई प्रतिवादी बनाउँदै रिट दायर गरेका थिए ।
सिलवाललाई पदमुक्त गरेपछि युवा तथा खेलकुद मन्त्रालयले सहसचिव विष्णुराज ढकाललाई केही समय निमित्त सदस्यसचिवको जिम्मेवारी दिएको थियो ।
गत मंसिर १३ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको सिफारिसमा टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । सर्वोच्चले टंकलाल घिसिङलाई समेत काम नगर्न आदेश दिएको छ ।
सरकारले राखेपका नौ बोर्ड सदस्यलाई समेत पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध पाँच बोर्ड सदस्यले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उच्च अदालतले बोर्ड सदस्य पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । युवा तथा खेलकुदमन्त्री गहतराजले अघिल्लो दिनको मिति राखेर आठ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।

Previous Article
ज्ञानेन्द्रको कप्तानी खोसियो
Next Article