काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन मंगलबार नै गर्ने तयारी गरेको छ। मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। उनले ४८.२३ प्रतिशत मत ल्याएका छन्।
कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएपनि उनले बहुमत ल्याउन नसकेको कांग्रेस महाधिवेशन मिडिया सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिए। डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २३९, कल्याण गुरुङले २० मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।
राष्ट्रिय सभागृहमा मतगणना भएको हो। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका थिए। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।

नेपालमाला
