काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’
त्यसलगत्तै अर्को ट्विटमा थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफूले पराजय बेहोरेको बताएका छन् । ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’
थापाले राजसंस्था शीरमा कफन बाँधेर बोकेर हिँडेको पुरस्कार आफूले पाएको समेत बताएका छन्। ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो’, उनले भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’
उनले आफूले राहत र उन्मुक्ति पाएको समेत बताएका छन्। पार्टीको महाधिवेशन पहिले उनले अब कहिल्यै पार्टी नफुटाउने बताउँदै आएका थिए।
खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

नेपालमाला
