‘ए’ डिभिजन लिग फुटबल : थ्रीस्टारको सुखद् सुरुवात

काठमाडौं : थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई ३–० गोलले पराजित गर्दै थ्रीस्टारले सानदार सुरुवात गरेको हो ।
थ्रीस्टारको जितमा निशान खड्का, राफेल बिडियास रिम र अनन्त तामाङले एक÷एक गोल गरेका थिए । आक्रामक खेल खेलेको थ्रीस्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको २२औं निशानले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । सन्जोग राईलाई फल गरेपछि पाएको फ्रिकिकलाई निशानले सदुपयोग गरेका थिए ।
खेलको २६औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको प्रहार थ्रीस्टारका गोलरक्षक प्रिसोले विफल पारेका थिए । थ्रीस्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो । ४४औं मिनेटमा थ्रीस्टारले २–० को अग्रता बनाएको थियो । हेमन्त थापा मगरको फ्रिकिकमा राफेलले हेडमार्फत बललाई जाली चुमाएका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई ३–० को जित दिलाए । हेमन्त थापामगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत गोल गरेका थिए ।
जितसँगै थ्रीस्टारले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको छ । थ्रीस्टार तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । खेलको म्यान अफ दी म्याच थ्रीस्टार निशान खड्का चुनिए ।
हिमालयन र संकटाको बराबरी
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नै शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले हिमालयन शेर्पासँग अंक बाँडेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ६०औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले फुत्काएको रिबाउन्ड बललाई लक्ष्मणले जाली चुमाएका थिए ।
संकटाको अग्रता चार मिनेट पनि टिकेन । ६४औं मिनेटमा त्रिदेव गुरुङले हेडमार्फत गोल गर्दै खेललाई बराबरी गरेका थिए । जीवन गुरुङको क्रसमा त्रिदेवले गोल गरेका थिए । लक्ष्मण खेलको म्यान अफ दी म्याच घोषित भए ।
फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १३ चरणमा कुल ९१ खेल हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । लिगको पुछारमा रहने दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुने छन् । ‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउने छन् । लिगअन्तर्गत आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments