दुबई : आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक उपाधि जितेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । अस्ट्रेलिया टीट्वेन्टी विश्वकप फाइनलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै उपाधि जित्ने टोली पनि बन्न सफल भयो । यस्तै सीमित ओभरको फाइनलमा अस्ट्रेलियालाई पराजित गर्ने न्युजिल्यान्डको सपना यस पटक पनि पूरा हुन सकेन् ।
अस्ट्रेलियालाई पहिलो टीट्वेन्टी विश्वकप उपाधि दिलाउन प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर र मिचेल मार्सले अर्धशतकीय पालि खेलेका थिए । आक्रामक ब्याटिङ गरेका मार्सले ५० बलमा अविजित ७७ रन बनाए । उनले आफ्नो पालिमा चार छक्का र ६ चौका हिर्काए । यसैगरी वार्नरले ३८ बलमा ५३ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले २८ र कप्तान एरोन फिन्चले पाँच रनको योगदान दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रनको योगफल खडा गरेको थियो । न्युजिल्यान्डको सम्मानजनक योगफल बनाउन कप्तान केन विलियम्सनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लामो समय क्रिजमा टिकेका उनले ८५ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ४८ बलमा ८५ रन बनाए । केनले तीन छक्का र १० चौका हिर्काए ।
यसैगरी मार्टिन गप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३ र ड्रियल मिचेलले ११ रन बनाए । अस्ट्रेलियाका जोस हेजलउडले तीन विकेट लिए । यस्तै एडम जाम्पाले एक विकेट हात पारे ।
सेमिफाइनलमा न्युजिल्यान्डले इङल्यान्डलाई स्तब्ध पार्दै पहिलो पटक टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको थियो । यसअघिका संस्करणमा न्युजिल्यान्ड सेमिफाइनलबाट अगाडि बढ्न सकेको थिए । यस्तै ११ वर्षपछि फाइनलमा स्थान पक्का गर्ने क्रममा अस्ट्रेलियाले उत्कृष्ट लयमा रहेको पाकिस्तानलाई निरास बनाएको थियो ।
अस्ट्रेलियाले पहिलो पटक सीमित ओभरको उपाधि जितेको हो । यसअघि सन् २०१० मा फाइनलमा स्थान बनाएको अस्ट्रेलिया इङ्ल्यान्डसँग स्तब्ध बनेको थियो । त्यतिबेला अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो । त्यसयता अस्ट्रेलिया पहिलो पटक फाइनलमा पुगेको हो । टीट्वेन्टी विश्वकपको सातौं संस्करणसम्म आइपुग्दा ६ टोलीले उपाधि जितेका छन् । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा उपाधि जितेको थियो । यसैगरी सन् २००७ को पहिलो संस्करण भारतले जितेको थियो । त्यसपछि सन् २००९ मा पाकिस्तान, सन् २०१० मा इङ्ल्यान्ड र सन् २०१४ मा श्रीलंकाले उपाधि जितेको थियो ।
Previous Article

नेपालमाला
