काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार राखेपको बोर्ड बैठक राख्न सदस्यले भूमिका नखेलेको भन्दै स्पष्टिकरण सोधिएको जनाइएको छ । मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग स्पष्टिकरण मागेका छन् ।
मन्त्री गहतराजले खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटसँग स्पष्टिकरण माग गरेका हुन् । यसैगरी उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईसँग पनि स्पष्टिकरण माग गरिएको छ । उनीहरुलाई तत्कालिन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए । अर्जुनबहादुर केसीले राजीनामा दिए पनि उनको राजीनामा तत्कालिन मन्त्री विश्वकर्माले रोकेर राखेका थिए ।
सरकारले कात्तिक १ गते राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो । सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले सिलवाललाई पदमुक्त गरेको हो । सरकारको निर्णय विरुद्ध सिलवालले कात्तिक २५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले सरकारको निर्णय गैरकानुनी रहेको जिकिरसहित अन्तरिम आदेशको माग गरेका छन् ।
सिलवाललाई बर्खास्त गरेलगत्तै खेलकुदमन्त्री गहतराजले राखेपका बोर्ड सदस्यलाई राजीनामा दिन भनेका थिए । तर, खेलकुदमन्त्रीलाई लत्याउँदै अटेरी गरेर बसेपछि उनीहरुलाई स्पष्टिकरण सोधिएको हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारबाट मनोनित भए पनि बोर्ड सदस्यले पछिल्लो डेढ वर्ष कुनै जिम्मेवारी पाएका थिएनन् । राजनीतिक अस्थिरतासँगै फेरिने मन्त्री र सदस्यसचिवको कार्यशैलीसँग बोर्ड सदस्य पनि असन्तुष्ट बन्दै आएका थिए ।
परिषद्को अध्यक्षको हैसियतले मनोनित बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरे पनि मन्त्रिपरिषद्बाट मनोनित सदस्यको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन । स्रोतका अनुसार मन्त्रिपरिषद्बाट मनोनित बोर्ड सदस्यलाई मन्त्रिपरिषद्बाटै निर्णय गरेर हटाउने तयारी सरकारको छ ।
राखेप बोर्ड सदस्य सुवास श्रेष्ठले स्पष्टिकरण पत्र परिषद्मा पठाएको जानकारी पाए पनि आफूले पाइनसकेको बताए । ‘स्पष्टिकरण सोधिएको भन्ने सुन्नमा आएको छ । अहिलेसम्म पत्र पाइसकेको छैन’, उनले भने ।
०००
महिला क्रिकेट टोली कतार प्रस्थान
काठमाडौं ः नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । कतारसँग टीट्वेन्टी क्रिकेट शृंखलाका लागि नेपाली टोली आइतबार बिहान कतार प्रस्थान गरेको हो ।
आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन खेलको टीट्वेन्टी शृंखला खेल्ने तय भएको छ । कतारमा तीन टीट्वेन्टी खेल खेलेपछि १४ सदस्यीय नेपाली टोली शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई प्रस्थान गर्नेछ ।
आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुँदैछ । छनोटका लागि नेपालले रुबिना क्षत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाली टोलीमा डली भट्ट, करुणा भण्डारी, ज्योति पाण्डे, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, संगीता राई, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ र सबनम राई छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले सम्हालेका छन् । यस्तै टिम ब्यवस्थापकमा जयन्ती भट्ट छिन् ।
नेपाली टोली हालै बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो । बंगलादेशमा रहँदा नेपाली टोलीले बंगलादेशको बंगलादेश अरिरा शेख प्रतिष्ठानसँ टीट्वेन्टी शृंखला खेलेको थियो । उक्त शृंखलामा नेपाली टोली २–१ ले विजयी भएको थियो ।