दुबई : अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो ।
पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए । उनले ३० बलमा तीन छक्का र तीन चौका हिर्काए । यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए । पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए । यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फाखर जामनले अर्धशतकीय पालि खेलेका थिए । विकेटकिपर ब्याट्सम्यान रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६७ रन बनाए ।
यसैगरी आक्रामक ब्याटिङ गरेका जामनले ५५ रन बनाए । उनले ३२ बलमा चार छक्का र तीन चौका हिर्काए । यस्तै कप्तान बाबर आजमले पनि ३९ रनको महत्वपूर्ण पालि खेले । उनले ३४ बलमा पाँच चौका हिर्काए । यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ अलीले खाता खोल्न सकेनन् भने सोयब मल्लिक एक रनमा पेभेलियन फर्किएका थिए । अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिए । यसैगरी प्याट कुमिन्स र एडम जाम्पाले एक÷एक विकेट हात पारे ।
पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलियाले समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो । यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ । न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ ।
न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो । यसअघि सन् २००७ र २०१६ मा न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१० को उपविजेता अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । सन् २०१० को फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो ।
सन् २००७ बाट सुरु भएको टीट्वेन्टी विश्वकपको यो सातौं संस्करण हो । पहिलो संस्करणको उपाधि भारतले उचालेको थियो भने अहिलेसम्मको सर्वाधिक सफल टोली वेस्ट इन्डिज हो । साविक विजेतासमेत रहेको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो ।
Previous Article

नेपालमाला
