श्रीलंका सुपर १२ मा छनोट

आबुधावी : संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका अन्तिम १२ मा पुगेको हो ।
दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्नुअघि नै सुपर १२ मा स्थान पक्का गरेको हो । लगातार दुई खेल हारेको नेदरल्यान्ड्स भने पहिलो चरणबाटै बाहिरिएको छ । अब आयरल्यान्ड र नामिबियाबीच हुने खेलको विजेता सुपर १२ मा पुग्नेछ ।
आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाएर एक सय एक रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लागि कप्तान एन्ड्रयु बालब्रिनीले सर्वाधिक ४१ रन बनाए । यस्तै कर्टिस क्याम्परले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्सनाले तीन विकेट लिए । यस्तै चमिका करुणारत्ने र लाहिरु कुमाराले दुई÷दुई तथा दुश्मन्था चमारा र वानिन्दु हसरंगाले एक÷एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर एक सय ७१ रनको योगफल खडा गरेको थियो । आठ रनमै तीन विकेट गुमाएको श्रीलंकाको पालिलाई प्रारम्भिक ब्याट्सम्यान पथुम निसंका र अलराउन्डर वानिन्दु हसरंगाले सम्हालेका थिए । चौथो विकेटका लागि यी दुई खेलाडीले एक सय २३ रनको साझेदारी गरेपछि श्रीलंकाले सम्मानजनक योगफल खडा गरेको थियो । हसरंगाले ४७ बल खेल्दै १० चौका र एक छक्काको मद्दतमा ७१ रन बनाए । निसंकाले पनि ४७ बल खेल्दै ६ चौका र एक छक्काको मद्दतमा ६१ रन जोडे । कप्तान दसुन सनकाले अविजित २१ रन बनाए ।
आयरल्यान्डका जोसुआ लिटलले चार ओभरमा २४ रन खर्चेर चार विकेट लिए । यस्तै मार्क अडाएरले दुई तथा पाउल स्टर्लिङले एक विकेट हात पारे ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments