काठमाडौं : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपाधि भिडन्त आज हुँदैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । चिरप्रतिद्वन्द्वी नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । राउन्ड रोबिन लिगको आधारमा भएको च्याम्पियनसिपको शीर्ष दुई स्थानमा रहेका भारत र नेपालले फाइनल खेल खेल्न लागेका हुन् । लिगमा भारत शीर्ष स्थानमा रहँदा नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । च्याम्पियनसिपमा पाँच राष्ट्र मात्रै सहभागी भएपछि राउन्ड रोबिन लिगका आधारमा खेलाइएको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको मात्रै यात्रा तय गर्दै आएको थियो । त्यसैले नेपाल शनिबार साँझ हुने खेलमा भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने अभियानमा छ ।
तर, भारतविरुद्धको फाइनल खेल नेपालका लागि भने पक्कै पनि सहज हुने छैन । दक्षिण एसियाकै बलियो प्रतिद्वन्द्वी भारतले नेपाललाई लिग चरणको खेलमा पराजित गरिसकेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म सात पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

भारतलाई पराजित गर्न निकै गाहारो भए पनि एउटा संकल्प लिएर खेल्ने हो भने ऐतिहासिक सफलता हासिल गर्न सक्ने नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए । ‘भारतसँग हामीले ठूलो खेल खेल्दै छौं । त्यो खेल हाम्रा लागि पक्कै पनि सहज छैन’, सहायक प्रशिक्षक श्रेष्ठले शुक्रबार प्रिम्याच कन्फरेन्समा भनेका थिए, ‘तर, हामी मानसिक रुपमा तयार छौं । हामी फाइनल खेलकै लागि केन्द्रित छौं । एउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रने छौं ।’
नेपाली टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताए । ‘हाम्रा लागि शनिबार ठूलो दिन हो । त्यो दिन हामी जितका लागि सबैथोक दिने छौं । हामी गोर्खाली जसरी खेल्ने छौं’, कप्तान किरणले भने, ‘भारत बलियो टोली हो भन्ने हामीलाई थाहा छ । तर, हामी सबैले मेहनत गर्ने हो भने भारतलाई हराउन कठिन छैन ।’
भारत पनि उपाधि जित्दै आफ्नो विरासतलाई कायम राख्ने अभियानमा छ । तर, नेपालविरुद्धको फाइनल खेल भारतका लागि पनि सहज नभएको उसले बुझेको छ । ‘फाइनलमा स्थान बनाउन सकेकोमा हामी असाध्यै खुसी छौं । हामीले उपाधि जित्न केवल एक खेल बाँकी छ । यसका लागि हाम्रा खेलाडी तयार छन्’, भारतका सहायक प्रशिक्षक सानमुगम वेंकटेसले भने, ‘नेपालले समूह चरणमा उत्कृष्ट खेल पस्किएको थियो । नेपाली टोली निकै उत्साहित छ । त्यसैले फाइनल खेल हाम्रा लागि निकै कठिन हुनेछ ।’
भारतविरुद्ध नेपालले अहिलेसम्म २२ खेल खेलेको छ । जसमा भारतले एकपक्षीय नतिजा निकालेको छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा पाँच खेल बराबरी गरेको छ ।
भारतविरुद्धको फाइनलमा नेपालका मुख्य खेलाडी अञ्जन विष्टले खेल्ने छैनन् । दुई पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने छन् । यस्तै मिडफिल्डर पुजन उपरकोटीले पनि खेल्ने सम्भावना कम छ । चोटका कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको जनाइएको छ ।

नेपालमाला
