काठमाडौं : काठमाडौं किङ्स–११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गर्दै काठमाडौंले सुखद् सुरुवात गरेको हो ।
ललितपुरले दिएको एक सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । काठमाडौंको जितमा रायन बर्ल र रहमानुल्लाह गुर्बाजले अर्धशतकीय पालि खेलेका थिए । रायनले अविजित ७३ रन जोडे । ३४ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे । उनी प्लेयर अफ दी म्याच पनि चुनिए ।
यसैगरी रहमानुल्लाह गुर्बाजले ३६ बलमा चार छक्का र चार चौकासहित ५९ रनको पालि खेले । यसैगरी राजु रिजालले १९ रन जोड्दा अमित श्रेष्ठ चार र सुवास खकुरेलले भने रन बनाउन सकेनन् । ललितपुरका पवन सर्राफले एक विकेट लिए । काठमाडौंका सुवास खकुरेल र अमित श्रेष्ठ रन आउट भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रनको योगफल खडा गरेको थियो ।ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय पालि खेलेका थिए । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सून्य रनमा गुमाएको ललितपुरलाई सम्मानजनक योगफलतर्फ डोहो¥याउन पवनले महत्वपूर्ण योगदान दिएका थिए । आक्रामक ब्याटिङ गरेका उनले ४४ बलमा चार छक्का र पाँच चौका हिर्काए । यसैगरी योगेन्द्रसिंह कार्कीले ३३, भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७, शंकर रानाले १४ र नारायण जोशीले १२ रन बनाए ।
काठमाडौंका जितेन्द्र मुखियाले चार विकेट लिए । यसैगरी रायन बर्ल र गुलशन झाले दुई विकेट लिए । यस जितसँगै काठमाडौंले महत्वपूर्ण दुई अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
Previous Article
दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा
Next Article

नेपालमाला
