२४ करोड डोज कोरोना खोप खेर जान लागेकै हो ?

लन्डन : अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन आग्रह गरेका छन् । यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको म्याद छिटै नै सकिने अवस्थामा पुगेको बताएका छन् ।

यसै वर्ष इरान जाने विमानमा चढेकी बहार आफ्ना बाबुसँग भेट्ने पाउने आशामा निकै उत्साहित थिइन् । उनले चार वर्षपछि आफ्ना बाबुलाई भेट्दै थिइन् । उनलाई इरान कसरी कोरोना महामारीको चपेटामा परेको छ भन्ने अनुमानसम्म पनि थिएन । कोरोनाको दोस्रो लहरको क्रममा इरानका साथै उनको परिवार पनि महामारीको चपेटामा पर्‍यो ।

सुुरुमा आफ्नो छोराको विवाहको तयारी गरिरहेका परिवारका एक साथी कोरोना संक्रमणको कारण बिरामी परे र उनको मृत्यु भयो । त्यसपछि बहारका बाबुको काका र वयोवृद्ध काकीको पनि कोरोनाको कारण मृत्यु भयो । बहारलाई आफ्नी हजुरआमाको चिन्ता भइरहेको थियो । हजुरआमाले एक डोज कोरोना विरुद्धको खोप त लिएकी थिइन् तर दोस्रो डोज भने पाउन सकिरहेकी थिइनन् ।

बहार अहिले २० वर्षकी भइन् र अमेरिकामा बस्दै आएकी छिन् । उनले गत अप्रिलमा नै कोरोना खोप लगाएकी थिइन् । उनलाई आफू निकै हदसम्म सुरक्षित छु भन्ने त थाहा थियो तर आफ्नो बाबुको घरमा रहेकी उनलाई अब अर्को पीडित को हुने हो भन्ने चिन्ता भइरहेको थियो । इरानमा कोरोना खोपको आपूर्ति निकै कम भएकाले उनको घरका केही सदस्यले मात्र कोरोनाको खोप पाएका थिए ।

बहार अमेरिका फर्किएको केही समयमा नै उनले आफ्ना बाबु बिरामी परेको समाचार सुनिन् । निकै निकै डराइन् र आत्तिइन् ।

‘यो जीवित रहने मानिसकै गल्ती हो कि जस्तो लाग्थ्यो’, उनले भनिन्, ‘मलाई इरानमा रहँदासम्म पनि केही भएन किनकी मैले कोरोनाको दुवै डोज खोप लगाएकी थिएँ ।’ बहारका बाबु र अन्य आफन्त भने कोरोनाको मारमा परे ।उनका बाबु कोरोनाबाट निको भए पनि अन्य धेरैले भने ज्यान गुमाए । यो समाचारले बहारलाई दुःखी तुल्याएको छ ।

खोप आपूर्तिमा देखिएको यस किसिमको असमानता तथ्यांकले निकै डरलाग्दो वास्तविकतालाई देखाएको छ । अहिलेसम्म विश्वका आधाभन्दा धेरै जनसंख्याले अझै पनि कोरोनाविरुद्धको एक डोज खोप पनि पाएका छैनन् । मानव अधिकारवादी संस्थाको तथ्यांकअनुसार ७५ प्रतिशत कोरोना खोप विश्वका केवल १० मुलुकमा गइरहेको छ । द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका अनुसार अहिलेसम्म बनेको सबै कोरोना खोपमध्ये आधाभन्दा धेरै विश्वको समग्र जनसंख्याको १५ प्रतिशतको लागि सुरक्षित गरिएको छ । अहिले विश्वका सबैभन्दा धनी मुलुकहरुले सबैभन्दा गरीब मुलुकको तुलनामा एक सयगुणाभन्दा धेरै कोरोना खोप आफ्ना नागरिकलाई दिइरहेका छन् ।

गत जुनमा जी७ का सदस्य मुलुकहरु म्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाले अबको एक वर्षभित्र एक अर्ब डोज खोप गरीब मुलुकलाई दिने घोषणा गरेका थिए ।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटकी खोप आपूर्तिको रिपोर्टकी एक शोधकर्ता अगाथे डेमाराइस भन्छिन्, ‘यो देख्दा मलाई खुसी लागेको थियो । मलाई त्यतिबेला यो धेरै ठूलो परिमाणको खोप हो भन्ने लागेको थियो । तर, यो कहिले पनि कार्यान्वयनमा आउँदैन भन्ने थाहा छ ।’

बेलायतले १० करोड डोज कोरोना खोप दिने वाचा गरेको छ । त्यसमध्ये उसले अहिलेसम्म केवल ९० लाख डोज खोप मात्र अनुदानमा दिएको छ । बाइडनले ५८ करोड डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्यसमध्ये अहिलेसम्म १४ करोड डोज मात्र वितरण भएको छ । ईयूले यस वर्षको अन्तिमसम्ममा २५ करोड डोज कोरोना खोप अनुदानमा दिने बताएको थियो । तर, अहिलेसम्म त्यसको आठ प्रतिशत खोप मात्र अनुदानमा दिइएको छ ।

धेरै मध्यम आयस्तर भएका मुलुकजस्तै इरानले पनि कोभ्याक्सबाट कोरोना खोप खरिद गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्वमा ल्याइएको यो कार्यक्रमले मध्य आयस्तर भएका मुलुकलाई सस्तो मूल्यमा  खोप बिक्री गर्छ भने कमजोर आयस्तर भएका मुलुकलाई अनुदानमा दिन्छ ।

यद्यपि कोभ्याक्स कार्यक्रमले पनि अहिले आपूर्तिको समस्या झेलिरहेको छ । सन् २०२१ मा २ अर्ब डोज कोरोना खोप वितरण गर्ने योजना यो कार्यक्रमको थियो । तर यसमध्ये अधिकांश खोप भारतीय कम्पनीले दिनुपर्ने थियो । भारतले नै गत अप्रिलमा कोरोना खोप निर्यातमा रोक लगायो । जसको कारण कोभ्याक्सले भारतीय कम्पनीबाट पाउनुपर्ने खोप पाउन सकेको छैन ।

भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएसँगै कोभ्याक्स कार्यक्रम पनि अहिले धनी मुलुकले दिएको अनुदानमा निर्भर देखिएको छ । यो कार्यक्रमबाट हुने कोरोना खोप आपूर्ति पनि निकै सुस्त देखिएको छ । यो कार्यक्रमबाट खोप पाएर खोप अभियान चलाइरहेका केही मुलुकले अहिलेसम्म केवल दुई प्रतिशत जनसंख्यालाई मात्र कोरोना खोप दिएका छन् ।

‘अहिले हामीले निकै कम मात्र कोरोना खोप पाउछौं र त्यसको म्याद पनि धेरै बाँकी हुँदैन । सानो सूचनामा ती खोप दिइन्छ जसको कारण धेरै मुलुकमा यस्ता खोप पुर्‍याउन कठिन हुन्छ’, कोभ्याक्स कार्यक्रमकी प्रबन्ध निर्देशक औरेलिया न्गुयेन भन्छिन् ।

यो विश्वव्यापी आपूर्तिको समस्या भने होइन । एयरफिनिटी कम्पनीका अनुसार अहिले धनी मुलुकले कोरोना खोप थुपारिरहेका छन् तर गरीब मुलुकले भने आवश्यक खोप पाउन पनि निकै सास्ती भोगिरहेका छन् । अहिले विश्वभरका कोरोना खोप निर्माताले मासिक एक अर्ब ५० करोड डोज खोप उत्पादन गरिरहेका छन् । यस वर्षको अन्तिमसम्ममा ११ अर्ब डोज कोरोना खोप उत्पादन हुने अनुमान छ ।

‘उनीहरुले ठूलो मात्रामा कोरोना खोप उत्पादन गरिरहेका छन् । पछिल्लो तीनदेखि चार महिनामा कोरोना खोप उत्पादनमा उल्लेख्य वृद्धि भएको छ’, एयरफिनिटीका प्रमुख शोधकर्ता म्यान लिन्ले बताउँछन् ।

विश्वका धनी मुलुकले बुस्टर डोज दिन थालेको अवस्थामा पनि उनीहरुसँग बढी हुने एक अर्ब २० करोड डोज कोरोना खोप छ । यो खोपको पाँच भागको एक भाग अर्थात् २४ करोड १० लाख डोज खोप अब छिटै नै अनुदानमा नदिएको अवस्थामा खेर जाने वा म्याद सकिने अवस्थामा छन् । गरीब मुलुकले कम्तीमा दुई महिनामा म्याद नभएको खोप स्वीकार नगर्ने लिन्ले बताउँछन् ।

‘मलाई धनी मुलुक लालची हुनु जरुरी थियो जस्तो लाग्दैन, कुन खोपले काम गर्छ भन्ने पनि उनीहरुलाई थाहा थिएन । उनीहरुले त्यसमध्येको केही मात्र खरिद गर्नुपथ्र्यो’, लिन्ले भन्छन् । एयरफिनिटीको अनुसन्धानअनुसार धनी मुलुकमा पर्याप्त मात्रामा खोप छ र उनीहरुले खोपको भण्डारणमात्र बढाउनु उचित हुँदैन । त्यसको सट्टामा उनीहरुले अहिले बढी भएको खोप अनुदानमा दिँदै आगामी महिनामा अझै धेरै उत्पादन हुन्छ भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ । धेरै मुलुकले आफ्ना नागरिकलाई आगामी दिनमा थप खोप आवश्यक पर्न सक्छ भन्ने सोचका साथ खोप थुपारिरहेका छन् ।

बेलायतको सरकारले आफूसँग बढी भएको खोप नभएको दाबी गरेको छ । उसले अष्ट्रेलियालाई ४० लाख डोज कोरोना खोप दिएको र यस वर्षको अन्तिमसम्ममा उसले उक्त खोप फिर्ता गर्ने बताएको छ । औरेलिया न्गुयेनका अनुसार  यो मामिलामा कोरोना खोप निर्मातासँग पनि वार्ता हुनुपर्छ । खोप उत्पादक पनि कोभ्याक्सप्रतिको वाचामा प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

अहिले प्रत्येक महिना एक अर्ब ५० करोड डोज कोरोना खोप उत्पादन भइरहेको छ भने गरीब मुलुकमा किन यति कम मात्र कोरोना खोप गइरहेको छ त भन्ने अहिले चासोको विषय हो । यस्तो अवस्थामा द्विपक्षीय सम्झौतालाई भन्दा पनि कोभ्याक्सलाई धनी मुलुकले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

बहार र उनको परिवारको लागि यी डोजहरु केवल संख्या होइनन् जीवन पनि हो । केही दिनमा अन्तरालमा बहारले अहिले पनि कोरोनाबाट एकजना मानिसको मृत्यु भएको कहानी सुन्छिन् । अध्ययनको लागि क्याम्पस जाँदा पनि उनी आफ्ना साथीहरुलाई खोप लगाउन प्रेरित गर्छिन् तर यसमा उनी सफल हुन सक्दिनन् । यसले उनलाई निराश बनाउँछ । ‘म यस्ता कुरालाई बेवास्ता गर्न खोज्छु तर मानिसले आफूले पाएको सुविधाको पनि प्रयोग नगरेको देख्दा नराम्रो लाग्छ ।’

बीबीसीबाट

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments