काठमाडौं : नेपालले घरेलु टोली ओमानमाथि प्रभावशाली जित निकालेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो ।
ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पालि खेलेका थिए । ४६ बलको सामना गरेका उनले दुई छक्का र चार चौका हिर्काए । यसैगरी प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ४० रन बनाए । यस्तै कुसल भुर्तेल र रोहितकुमार पौडेलले समान ६ रन बनाउँदा शरद भेषवाकर एक रनमा अविजित रहे । ओमानका नेस्टोर धम्बाले दुई तथा कालिमुल्लाहले एक विकेट लिए ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा अलआउट हुँदै एक सय २१ रनको योगफल खडा गरेको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन बनाए । ओमानले अतिरिक्त रुपमा १२ रन पाएको थियो ।
घरेलु टोली ओमानलाई सस्तैमा रोक्न तीव्र गतिका बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछानेले चार÷चार विकेट लिए । करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चिए । यस्तै ८.१ ओभर बलिङ गरेका सन्दीपले दुई मेडनसहित जम्मा १८ रन खर्चिएका थिए । यसैगरी शरद् भेषवाकरले पनि दुई विकेट हात पारे ।
अमेरिका, ओमान र नेपाल सम्मिलित एकदिवसीय शृंखलाअन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले स्तब्ध बनेको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आठ खेलमा ८ अंक जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । १३ खेलमा २० अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा १५ खेलमा १४ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । यसैगरी आठ खेलमा नौ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा रहँदा सात खेलमा आठ अंक जोडेको नामिबिया पाँचौं, सात खेलमा सात अंक जोडेको यूएई छैटौं र अहिलेसम्म अंक जोड्न नसकेको पपुवा न्युगिनी सातौं स्थानमा छन् ।
Previous Article

नेपालमाला
