काठमाडौं : एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोलले पराजित भएको हो ।
बलियो टोली फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो । खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । विमलाले हेडमार्फत उत्कृष्ट गोल गरेकी थिइन् । उनी ३९औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।
पहिलो हाफमा १–० अग्रता बनाएको नेपालले दोस्रो हाफको अन्तिम समयतिर सम्हालिन नसक्दा फिलिपिन्स खेलमा हावी भएको थियो । खेलको ८९औं मिनेटमा तहनाइ एन्निसले गोल गर्दै फिलिपिन्सलाई खेलमा फर्काएकी थिइन् । त्यसपछि इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २–१ को जित दिलाइन् । नेपालले फिलिपिन्ससँगको दोस्रो भेटमा पनि हार बेहोरेको हो । यसअघि सन् १९९९ को एएफसी महिला च्याम्पियनसिपमा नेपाल फिलिपिन्ससँग ५–० गोलले पराजित भएको थियो ।
समूह ‘एफ’मा रहेको नेपालले एएफसी महिला एसियन कप छनोटमा हारबाट सुरुवात गरेको छ । फिलिपिन्सले भने पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको छ । नेपालले अब दोस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ । फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा आयोजना हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।
Previous Article
यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने
Next Article

नेपालमाला
