काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले अघिल्लो खेलको सुरुवाती टोलीका तीन खेलाडी परिवर्तन गरेका थिए । उनले गोलरक्षक अञ्जना रानामगर, स्ट्राइकर रश्मी घिसिङ र अनिता बस्नेतलाई सुरुवाती–११ मा मौका दिएका थिए । रश्मीले अघिल्लो खेलमा मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । छैटौं मिनेटमा गोलरक्षक अञ्जनाको गल्तीमा बंगलादेशकी श्रीमोती सरकारले उपलब्ध गराएको बललाई मोसामत सोप्नाले सदुपयोग गर्न सकिनन् । नवौं मिनेटमा अमृता जैशीको सशक्त प्रहार बंगलादेशकी गोलरक्षक रुपना चक्माले विफल पारेकी थिइन् । त्यसलगत्तै सरु लिम्बूको सशक्त प्रहारलाई पनि गोलरक्षक चक्माले विफल पारेकी थिइन् ।
खेलको ३०औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो । ४३औं मिनेटमा नेपालको तीनवटा प्रहार खेर गएको थियो । नेपालका विमला चौधरी, सरु लिम्बू र प्रिति राईको प्रहारले पोस्ट्को दिशा लिन सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा दुवै टोलीले कमै मात्र अवसर बनाएका थिए । नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भइन् । आइतबार रजनी थोकरले राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । उनी दोस्रो हाफको ८८औं मिनेटमा प्रिति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
उज्वेकिस्तानमा असोज पहिलो साताबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोलले विजयी भएको थियो ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका कारण खेलाडीले राम्रो खेले पनि गोल हुन नसकेको बताए । ‘मैदान भिजेका कारण खेलाडीले खुलेर खेल्न सकेनन् । यो खेलले हामीले टोलीको कमजोरी पत्ता लगाउन पाएका छौं’, प्रशिक्षक फिलिप्सले भने, ‘यसले एएफसी एसियन कप छनोटमा धेरै नै सघाउ पु¥याउने छ ।’
नेपाली टोलीकी कप्तान रेणुका नगरकोटीले बंगलादेशसँगको मैत्रीपूर्ण खेल टिम सुधारका लागि महत्वपूर्ण भएको बताइन् । ‘हामीले अवसर पाएर पनि गोल गर्न सकेनौं । टोलीमा अधिकांश नयाँ खेलाडी भएका कारण तालमेलमा कमी देखियो’, कप्तान नगरकोटीले भनिन्’, ‘बंगलादेशसँगको मैत्रीपूर्ण खेल टिम सुधारका लागि महत्वपूर्ण हुनेछ ।’
बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले बलियो प्रतिद्वन्द्वी नेपालसँग आफ्नो टोलीले राम्रो खेल खेलेको बताए । ‘नेपाल बलियो टोली हो । हाम्रा खेलाडीले उत्कृष्ट खेल खेले’, प्रशिक्षक चोटोनले भने, ‘यो नतिजाबाट खुसी छु ।’
एएफसी महिला एसियन कप छनोट उज्वेकिस्तानमा आयोजना हुँदैछ । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल असोज ५ मा हुनेछ । फिलिपिन्स र हङकङबीचको खेल असोज ८ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप सन् २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।
Previous Article

नेपालमाला
