नेप्सेमा पहिरो, डेढ घण्टामा १२० अंकको गिरावट

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सुरुवातबाट नै गिरावट भएको सेयर बजार लगातार ओरालो लागेको छ । मध्याह्न १२ बजेर ३० मिनेट जाँदा बजार परिसूचक नेप्से ११९.९४ अंकले ओरालो लाग्दा २८०७.०५ अंकमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिव्यक्ति १२ करोड र प्रतिव्यक्ति प्रतिबैंक चार करोड रुपैयाँको सीमा तोकेको थियो । जसको प्रभावले सेयर बजार त्यसयता निरन्तर घटिरहेको छ ।

यही भदौ २ गते ३१९९.०३ अंकको उचाइ कायम गरेर ३ गतेदेखि घट्न लागेको नेप्से त्सयता आजसम्म नौ दिन कारोबार हुँदा करिब ४०० अंकको गिरावट भइसकेको छ ।

डेढ घण्टाको अवधिमा नेप्सेमा एक करोड १७ लाख सात हजार ३०६ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४७ करोड ५ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सबै उपसूचकामा गिरावट हुँदा वित्त कम्पनी, विकास बैंक र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट देखिएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार हुँदा १८२ कम्पनीको मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments