काठमाडौं : नेपाल चिरप्रतिद्वन्द्वी भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल भारतसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले खेलको ३६औं मिनेटमा गोल गरेको थियो । भारतका चिन्ग्लेसना सिंह कोनसामको ब्याक पासलाई नियन्त्रणमा लिँदै अञ्जन विष्टले उत्कृष्ट गोल गरेका थिए । उनले भारतीय गोलरक्षक गुरप्रीतसिंह सन्धुलाई बिट गर्दै गोल गरेका हुन् ।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको ६१औं मिनेटमा गोल खाएको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका अनिरुद्र थापाले गोल गर्दै भारतलाई खेलमा फर्काएका थिए । भारतीय कप्तान सुनिल क्षत्रीको सशक्त प्रहारलाई नेपालका गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए पनि रिबाउन्डमा थापाले बललाई जाली चुमाएका थिए । त्यसपछि दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन् । बिहीबारको खेलमा नेपालका तेज तामाङ र भारतका रहिम अली उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुवै जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी मागे । ‘आज नेपालीलाई खुसी तुल्याउन सकिनँ । त्यसैले माफी चाहन्छु । हाम्रा खेलाडीले राम्रो खेल खेले पनि आफ्नै कमजोरीले गोल खान पुग्यौं’, अलमुताइरीले भने, ‘नेपाली जनतालाई खुसी तुल्याउन नसकेकोमा दुःखी छु ।’ उनले नेपाली टोलीमा अझै सुधार गर्नु पर्ने आवश्यकता रहेको औंल्याए । ‘हामीले अझै धेरै सुधार गर्नु पर्नेछ । तर, खेलाडीको प्रदर्शनबाट भने सन्तुष्ट छु’, अलमुताइरीले भने ।
यसैगरी भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकले खेल निकै प्रतिस्पर्धात्मक र उत्कृष्ट भएको बताए । ‘खेल निकै प्रतिस्पर्धात्मक भयो । नेपालको काउन्टर एट्याक उत्कृष्ट थियो’, प्रशिक्षक स्टिमेकले भने, ‘घरेलु टोलीसँग खेल्न संधै कठिन हुन्छ । नेपालसँग पनि त्यस्तै भयो ।’ नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
यही असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली भदौ २५ गते कतारको दोहा प्रस्थान गर्नेछ । दोहामा तयारी गरेर नेपाली टोली माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३० गतेसम्म आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८, भारतसँग असोज २४ र बंगलादेशसँग असोज २७ मा प्रतिस्पर्धा गर्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् ।
Next Article

नेपालमाला
