काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयपछि भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले घरेलु मैदानमा आज भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोलीले साफ फुटबलको तयारीस्वरुप भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । आज हुने नेपाल र भारतबीचको खेल नेपाली अनुसार साँझ ५ः३० बजे सुरु हुनेछ ।
काठमाडौंको दशरथ रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ । नेपालले सन् २०१५ पछि पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो ।
नेपाली टोली र भारतबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर देखिएको छ । त्यसकारण आजको खेलमा सहज जितका लागि घरेलु टोलीलाई निकै कठिन हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले भातरविरुद्ध उत्कृट प्रदर्शन गर्ने र युवा खेलाडीलाई मैदान उतार्ने बताएका छन् । उनले भारतसँग विगतको नजिता जस्तो भए पनि आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
‘नेपाल र भारत चीर प्रतिद्वन्द्वी टोली हो । तर, मेरा लागि सबै प्रतिद्वन्द्वी एउटै हुन् । चाहे त्यो भारत होस् वा विश्वको अन्य कुनै टोली । हामीले राम्रो तयारी गरेका छौं र जित्नका लागि खेल्नेछौं । आशा गरौं हाम्रो प्रदर्शनबाट नेपालीले गर्व गर्नेछन्’, मैत्रीपूर्ण खेलअघि अलमुताइरीले भने, ‘भारत बलियो टोली हो । विगतको नतिजाको चिन्ता हामी लिँदैनौं । हामीलाई कुन टोलीको वरीयता कहाँ छ भन्ने पनि चिन्ता छैन । हामीले गोर्खाली हौं भनेर प्रमाणित गर्नुपर्छ । इतिहास बनाउनका लागि हामी तयार छौं ।’
नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि नजिता राम्रो निकाल्ने तरिकाले खेल्ने बताए । उनले सबैभन्दा धेरै क्याप जित्ने खेलाडीको कीर्तिमान पनि बनाउँदै छन् ।
‘म आफ्नो डेब्यू खेल खेल्दा घाइते भएको थिएँ । आज मेरो लागि महत्त्वपूर्ण खेल हुनेछ । त्यसैले आजको खेलमा हामी जित निकाल्ने तरिकाले खेल्नेछौं’, किरणले भने ।
भारतीय टोलीका कप्तान सुनील क्षत्रीले पनि नेपालविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले लामो समय पछि नेपालसँग खेल्न लागेको आफूहरु पनि सतर्क भएको बताए । सुनिलले पछिल्लो सयम नेपालको नतिजा हेर्दा निकै बलियो देखिएकोले आफू्रु पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने बताए । ‘घरेलु टोलीसँग खेल्न हामीलाई निकै कठिन हुनेछ । घरेलु मैदान र समर्थकको साथले नेपाली टोलीको मनोबल उच्च छ’, प्रशिक्षक स्टिमेकले भने, ‘हामी विगतको प्रदर्शनलाई निरन्तरता दिने गरी खेल्ने छौं ।’
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली भदौ २५ गते कतारको दोहा प्रस्थान गर्नेछ ।
दोहामा तयारी गरेर नेपाली टोली माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३० गतेसम्म आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८, भारतसँग असोज २४ र बंगलादेशसँग असोज २७ मा प्रतिस्पर्धा गर्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमाला
