काठमाडौं : राष्ट्रिय फुटबल टोलीका विदेशी प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधानका लागि गठित छानविन समितिले एन्फाभित्रको विवाद आफै समाधान गर्न निर्देशन दिनुपर्ने सुझाव दिएको छ । दुई हप्ता लगाएर तयार पारिएको ८२ पृष्ठको प्रतिवेदनमा सम्बन्धित पक्षले विवाद एवं मनमुटावलाई आपसी समझदारीबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
‘अखिल नेपाल फुटबल संघमा देखिएको विवादको मुल जड सामाजिक सञ्जालको अत्याधि प्रयोग, आपसी सम्बन्ध विस्तार हुन नसक्नु, आचारसंहिताको कमिकमजोरी र उचित रुपमा प्रयोग नगर्नु, खेल क्षेत्रमा धुम्रपान र मद्यपानलगायतका क्रियाकलापलाई निरुत्साहन गर्न नसक्नुलगायतका कारणबाट विवाद बढेको देखिन्छ’, छानविन समितिद्वारा तयार पारिएको प्रतिवेदनमा भनिएको छ ।
छानविन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले ब्यावसायिक आचरणगत बानी बेहोरामा पनि सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैगरी एन्फाले आफ्ना विभाग र कमिटीहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फाभित्रै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव पनि प्रतिवेदनमा समेटेको छ ।
प्रतिवेदन बुझ्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले छानविन समितिले विभिन्न व्यक्तिहरुसँग लिएको बयानले तार्किक निष्कर्ष नआएकाले एन्फाबाट सुरु भएको विवाद त्यहीँ समाधान गर्ने निर्देशनका लागि परिषद्लाई सुझाव दिएको जानकारी दिए । ‘विवादमा मुछिएका व्यक्तिहरुको बयानबाट तार्किक निष्कर्ष ननिस्किएकाले एन्फाबाट सुरु भएको विवाद एन्फालाई नै समाधानका लागि निर्देशन दिने निर्णय भएको छ’, सदस्यसचिव सिलवालले भने, ‘राखेप नियमनकारी निकाय र अभिभावक हो । हामीले एन्फालाई निश्चित समयसीमा दिएर समाधानका लागि निर्देशन दिनेछौं ।’ समितिले एन्फालाई आफ्नै आचारसंहिता तयार पारेर परिषद्बाट स्वीकृत गराई लागु गराउन पनि निर्देशन दिइएको छ ।
गत साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए । त्यसपछि नेम्वाङले अनाहकमा प्रशिक्षक अलमुताइरीले आफ्नो नाम मुछेको भन्दै छानविनका लागि एन्फामा निवेदन दिएका थिए । एन्फाको आकस्मिक बैठकले विवाद समाधानका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेको थियो । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई छानविनका लागि निर्देशन दिएपछि पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा गत साउन १९ गते विवाद समाधान समिति गठन गरेको हो । लाखेको संयोजकत्वमा गठित समितिमा राखेप बोर्ड सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, कानुन शाखाका प्रमुख नारायणराज अर्याल र सचिवमा संघ संस्था सवन्वय शाखाका प्रमुख सरोज पोखरेल सदस्य छन् । समितिका प्रवक्ता सुवर्ण श्रेष्ठले धेरै जनाको बयान लिनुपर्ने र त्यससँग सम्बन्धित सामग्री अध्ययन गर्नुपर्ने भएकाले तोकिएको समयसीमाभन्दा एक साता ढिला भएको जानकारी दिइन् ।
Previous Article
निर्वाचन आयोगले स्वीकार्यो झलनाथ हस्ताक्षर सनाखत
Next Article

नेपालमाला
