टोकियो ओलम्पिक: सोनिया पहिलो चरणमै पराजित

काठमाडौं : टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पनि पहिलो खेलमै पराजित भएकी छन् । शनिबार भएको महिला ४८ केजीमुनिको तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन् । सोनियाले एक मिनेट १६ सेकेन्डमै खेल गुमाएकी थिइन् । सोनिया इरिनासँग १०–० पराजित भइन् । इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।
सोनिया वाइल्ड कार्ड पाउँदै गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदक जितेकी थिइन् । सोनिया विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी पनि हुन् । सन् २०१९ मा मोरक्कोमा भएको वल्र्ड जुनियर च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेकी थिइन् । त्यसअघि कुनै पनि नेपाली खेलाडीले विश्वस्तरीय प्रतियोगितामा पहिलो खेल जित्न सकेका थिएनन् । त्यसअघि सोनियाले सन् २०१८ मा बेरुतमा भएको एसियन च्याम्पियनसिप र सन् २०१८ मै हङकङमा भएको एसियन कप क्याडेट एन्ड जुनियर च्याम्पियनसिपमा एक बाउट जितेकी थिइन् । सन् २०१८ मै अर्जेन्टिनामा आयोजना भएको युथ ओलम्पिक खेलकुदमा सहभागी भएकी सोनियाले सन् २०१९ मा जापानमा जुडोको विशेष प्रशिक्षण पनि लिएकी थिइन् ।
टोकियो ओलम्पिकमै सुटिङकी कल्पना परियारले भने महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
असाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६।८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् । उनले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४।५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।
राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२।२, दोस्रोमा १०५।४, तेस्रोमा १०१।०, चौंथोमा १०४।१, पाँचौमा १०३।४ र छैटौं १००।७ अंक जोडिन् ।

तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६औं स्थानमा रहिन् । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।
टोकियो ओलम्पिकमा अब मंगलबार पौडी खेलाडी एलेक्जेन्डर शाहले मंगलबार र गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्दैछन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी सरस्वती चौधरीले एथलेटिक्सको महिला एक मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments