काठमाडौं : ३२औं गृष्मकालिन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए । कार्यक्रममा जापानको सांस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।

टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष हासिमोतो सेकोले ओलम्पिक इतिहासमै स्थगनको नजिक पुगिसकेको ओलम्पिक भब्य र सब्य रुपमा आयोजना गर्न पाउँदा खुसी लागेको बताए । ‘ओलम्पिक दोस्रो पटक जापानमा फर्किएको थियो । तर, इतिहासमै पहिलो पटक स्थगनको नजिक पनि पुगेका थियौं’, उनले भने, ‘विभिन्न चुनौतीलाई पार गर्दै हामीले प्रतियोगिताको उद्घाटन गर्न सफल भयौं । उद्घाटनसँगै हजारौंको आशा, विश्वास र सपना पनि साकार हुँदै जानेछ ।’
यसैगरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाचले विभिन्न चुनौतीका बाबजुद पनि सबैको आशा र विश्वासको प्रतिक रहेको ओलम्पिक सुरु भएको बताए । ‘आजको दिन आशाको दिन हो । हामी सबैले कल्पना गरेभन्दा भिन्न परिस्थितिमा उद्घाटन समारोह गरिरहेका छौं । तथापि हामी सबै खुसी छौं’, उनले भने, ‘हामी सबै मिलेर यो खुसीलाई अझ विशेष बनाउनु छ । किनभने यो खेलकुदको एकीकृत शक्ति हो । एकजुटताको सन्देश पनि हो । यसले हामी सबैलाई एकसाथ आगामी यात्राका लागि आशा देखाउने छ ।’
टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए । उनीहरुसँगै जुडो खेलाडी सोनिया भट्ट र सुटिङ खेलाडी कल्पना परियारले मार्च पासमा सहभागिता जनाएका थिए । एलेटिक्स खेलाडी सरस्वती चौधरी भने आइतबार मात्रै जापान जाने छिन् । उनी नेपालमै तयारीमा व्यस्त छिन् ।

नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल रहेका छन् । टोकियो ओलम्पिकमा परिषद्बाट बोर्ड सदस्य सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठले पनि सहभागी छन् । यसैगरी ओलम्पिक कमिटीबाट अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, सहमहासचिव पीताम्बर तिम्सिना, सचिव तुलसा थापा र सदस्य प्रकाशशमशेर राणा एवं राम अवाले पनि जापान पुगेका छन् । यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, मेडिकलतर्फ डा.नविसमासिंह प्रधान, नेपाली दूतावासका कर्मचारी प्रेम बराल र स्वयम्सेवक रूपेश डंगोलले पनि टोकियो ओलम्पिकमा नेपाली टोलीको प्रतिनिधित्व गरेका छन् ।
ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ सुटिङको व्यवस्थापकका रूपमा टोकियो ओलम्पिकमा सहभागी हुनेछन् । पीताम्बरलाई भने एथलेटिक्सको व्यवस्थापकको जिम्मेवारी दिइएको छ । संघीय सांसदसमेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा थापा र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा जुडोको व्यवस्थापक बनेर टोकियोको सयर गर्दै छन् । टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेका पौडी, एथलेटिक्स, सुटिङ र जुडो संघका कोही पनि पदाधिकारी भने जापान जाने टोलीमा परेका छैनन् । उनीहरूको स्थानमा ओलम्पिक कमिटीका पदाधिकारी व्यवस्थापकका रूपमा जापान पुगेका हुन् । पाँच खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीले जापानको टिकट काटेकोमा अफिसियलको ओइरो लागेको समाचार बाहिरिएपछि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले भने जापान नजाने निर्णय गरेका थिए ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाह एवं एथलेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्दै छन् । पौडी र एथलेटिक्सका खेलाडी अनिवार्य कोटामा ओलम्पिक खेल्न लागेका हुन् भने सोनिया र कल्पनाले वाइल्ड कार्ड पाएका छन् ।
टोकियो ओलम्पिकमा जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा शनिबार रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन् । बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्द्वी इरिना पाएकी हुन् । महिला ४८ केजीमुनिको तौल समूहमा सोनियाले रुसी खेलाडीसँग शनिबार खेल्ने छिन् । इरिना जुडोको ४८ केजीमुनिको तौल समूहमा विश्व वरीयताको नवौं स्थानमा छिन् ।
आगामी अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । कल्पनाले महिला १० मिटर एयर राइफल र सरस्वतीले महिला एक मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालमाला
