मेरो भविष्यमाथि खेलबाड भयो : एथलेटिक्स प्रशिक्षक मल्ल

काठमाडौं : एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्लले ल्याबको गल्तीको कारण आफ्नो ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण भएको बताएकी छिन् । कोभिड-१९ को पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रशिक्षक मल्लले टोकियो ओलम्पिक जाने मौका गुमाएकी थिइन् । मल्लको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रशिक्षक मल्ललाई कोरोना देखिएपछि नेपाल ओलम्पिक कमिटिले सन्तोष श्रेष्ठलाई जापान पठाउने निर्णय गरिसकेको छ । तर, प्रशिक्षक मल्लले ल्याबको गल्तीको कारण गलत रिपोर्ट आएको कारण ओलम्पिक जानबाट बन्चित गर्नु अन्यायपूर्ण भएको बताएकी छन् । प्रशिक्षक मल्लले आफूले आफ्नो भविष्यमाथि खेलबाड भएको महसुस गरेको समेत बताइन् ।

‘ल्याबको गल्तीको कारण फल्स रिपोर्ट आउदा ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण छ’, उनले भनिन्, ‘ल्याबको कारण मैले मेरो भविष्यमा खेलबाड भएको महसुस गरेको छु ।’
यस अघि प्रशिक्षक मल्ल एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षकको रुपमा जापान जाने तय थियो । मल्लको निर्देशनमा चौधरीले ओलम्पिक तयारी गरिरहेकी थिइन् ।

प्रशिक्षक मल्लले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको कारण ओलम्पिकबाट आफूलाई बन्चित नगर्न आग्रह समेत गरेकी छिन् । रिपोर्ट शंका लागेपछि प्रशिक्षक मल्लले आइतबार ओलम्पिकले मान्यता दिएको स्टार हस्पिटल पुगेर पुनः परीक्षण गराएकी थिइन् ।
‘पहिलो रिपोर्ट पोजेटिभ आएपछि स्टारसहित अन्य चार ठाउँमा फेरि परीक्षण गर्दा मेरो नेगेटिभ आएको छ । ल्याबको गल्तीले यस्तो भएको हो । खेलाडी र प्रशिक्षकको रुपमा २८ वर्ष बिताउदा मैले धेरै मौका गुमाए र पीडा भोगेको छु । पोखराबाट मलाई ओलम्पिकको लागि डाकियो । अहिले कोरोना देखाएर जबर्जस्ती ओलम्पिकको यात्रा रोकिएको जस्तो लागेको छ’, मल्लले भनिन् ।
प्रशिक्षक मल्लले ओलम्पिक कमिटिले पोजेटिभ रिपोर्टबारे आफूलाई जानकारी नगराई मिडियालाई पहिले जानकारी दिएको कारण आफूलाई शंका लागेको समेत बताइन् ।

‘ओलम्पिक कमिटिले मलाई जानकारी दिएन । मैले पत्रकार र समाचारबाट रिपोर्ट पोजेटिभ आएको खबर सुने । त्यसैले नियतवंश हो की भन्ने लागेको छ’, उनले भनिन् । प्रशिक्षक मल्लले आफूले कोरोनाको दुबै डोजको खोप लगाएको र आफुलाई कोभिडको कुनै लक्षण नभएको समेत बताइन् ।

२०४३ सालबाट एथलेटिक्समा आबद्द मल्ल खेलाडी हुँदै प्रशिक्षक बनेकी हुन् । मल्लले भारतबाट प्रशिक्षकको डिप्लोमा कोर्ष गरेकी थिइन् । राखेपको प्रशिक्षक मल्ल पछिल्लो समय पोखरामा कार्यरत छिन् ।
स्टार हस्पिटलले भने रिपोर्ट गलत नभएको जनाएको छ । दुवै रिपोर्ट सही रहेको भन्दै सिटी भ्यालु ३० भन्दा बढी रहेका कारण एकै दिनमा नेगेटिभ आएको दाबी गरेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments