काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेर नयाँ सरकार गठनको परमादेश जारी गरेसँगै केपी ओली सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । खेलकुदमन्त्री नभएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक पनि स्थगित गरिएको छ ।
असार ३० गतेका लागि खेलकुदमन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशन अनुसार राखेप सदस्यसचिव रमेशकुमार सिलवालले आह्वान गरिएको बैठक स्थगित भएको हो ।
खेलकुदमन्त्री श्रेष्ठसँगको सल्लाहपछि सदस्यसचिव रमेशकुमार सिलवालले असार ३० को बोर्ड बैठक आह्वान गरेका थिए ।
असार ३० गते बोर्ड बैठक बस्ने भन्दै रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्र सोमबार राखेपका सबै शाखा र विभागहरुमा बाँडिएको थियो । सर्वोच्चको फैसलाका बारेमा सञ्चारमाध्यममा समाचार आउन सुरु भएसँगै पहिले बाँडिएको पत्रहरु फिर्ता लगिएको थियो ।
राखेपको बोर्ड बैठक बस्न नसकेको दुई वर्षभन्दा बढी भइसकेको छ ।