लन्डन : इङ्ल्यान्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लन्डनको वेम्बली स्टेडियममा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो ।
घरेलु मैदानमा इङ्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इङ्ल्यान्डको जितमा कप्तान हेरी केनले एक गोल गरे । अर्को गोल इङ्ल्यान्डले आत्मघाती रुपमा उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे पनि सन् १९९२ को विजेता डेनमार्कलाई फाइनल पु¥याउन सकेनन् ।
निकै रोमाञ्चक खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । ३०औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । डिबक्स बाहिरबाट २१ वर्षीय डाम्सगार्डले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । खेलको ३९औं मिनेटमा डेनमार्कका कप्तान सिमोन कजेरीले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । इङ्ल्यान्डका बुकायो साकाको क्रसलाई बचाउने क्रममा उनले आफ्नै पोस्ट्मा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको १०४औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले डिबक्सभित्र लडाएपछि इङ्ल्यान्डले भीएआरको सहायतामा पेनाल्टी पाएको थियो । केनको पेनाल्टीलाई डेनमार्कका गोलकिपर कास्पर समिचेलले पञ्च गर्दै रोके पनि त्यही रिबाउन्डमा केनले गोल गरेका थिए ।
इङ्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि सन् १९६६ को विश्वकपमा इङ्ल्यान्डले उपाधि जितेको थियो । युरोकपमा भने इङ्ल्यान्डले पहिलो पटक फाइनल खेल्न लागेको हो । सन् १९६८ र सन् १९९६ मा सेमिफाइनलमा पुगेको इङ्ल्यान्डले दुवै संस्करणमा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
युरोकपको फाइनलमा पुग्ने इङ्ल्यान्ड १३औं टोली बनेको छ । यसअघि १२ टोलीले फाइनल खेल्दा १० टोलीले उपाधि जितिसकेका छन् । युगोस्लाभिया र बेल्जियमले फाइनल पुगेर पनि उपाधि जित्न सकेका छैनन् ।
इङ्ल्यान्डले उपाधिका लागि तीन पटकको विजेता इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । वेम्बलीमा इङ्ल्यान्डले घरेलु दर्शकको ठूलो साथ पाउने छ । फाइनल खेल हेर्न इटालीका भने एक हजार दर्शकलाई मात्र अनुमति दिने सहमति भएको छ । इटाली अहिले पनि कोरोनाका कारण बेलायतको ‘खतरा सूची’मा रहेका कारण थोरै समर्थकलाई मात्र बेलायतमा प्रवेश दिन लागिएको हो । इटालीका दर्शक चार्टर्ड विमानमा मात्र बेलायत जान पाउने, एयरपोर्टदेखि वेम्बली स्टेडियमसम्म विशेष सवारीसाधन प्रयोग गर्नुपर्ने, निश्चित स्थानमा मात्र बस्नुपर्ने र १२ घण्टाभित्र बेलायत छाडिसक्नुपर्ने प्रावधान राखिएको छ ।
इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
युरोकप फुटबलमा १७ वर्षपछि दुवै नयाँ टोली फाइनल पुगेका हुन् । सन् २००४ मा दुई नयाँ टोली ग्रिस र पोर्चुगल फाइनल पुगेका थिए । उक्त खेलमा ग्रिसले पोर्चुगललाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । इटाली र इङ्ल्यान्ड अपराजित रहँदै फाइनल पुगेका हुन् । इटालीले अहिलेसम्म खेलेको ६ वटै खेलमा जित निकालेको छ । समूह चरणको तीन खेलमा कुनै गोल नखाई जित हात पारेको इटालीले नकआउट चरणका तीनमध्ये एक खेल पेनाल्टी सुटआउट र एक खेल अतिरिक्त समयमा जितेको थियो । समूह चरणको पहिलो खेलमा टर्कीलाई ३–० गोलले पराजित गरेको इटालीले दोस्रो खेलमा स्विट्जरल्यान्डलाई पनि ३–० र तेस्रो खेलमा वेल्सलाई १–० गोलले पराजित गरेको थियो । यसैगरी अन्तिम १६ को खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको इटालीले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलले नै पराजित गरेको थियो ।
इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको थियो । इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । इटाली युरोकप र विश्वकपजस्ता मुख्य प्रतियोगिताको सेमिफाइनलमा १०औं पटक पुगेको छ । युरोकपको फाइनलमा स्थान बनाएको भने चौथो पटक हो । इटालीले यसअघिका तीन फाइनल भिडन्तमा एक खेलमा मात्र जित निकाल्न सकेको छ । सन् १९६८ मा युगोस्लाभियालाई पराजित गर्दै उपाधि जितेको थियो । यसैगरी इङ्ल्यान्डले समूह चरणमा दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो । पहिलो खेलमा क्रोएसियालाई १–० गोलले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेल्दा तेस्रो खेलमा चेक रिपब्लिकलाई १–० गोलले हराएको थियो । त्यसपछि अन्तिम १६ को खेलमा जर्मनीलाई निर्धारित समयमै २–० र क्वार्टरफाइनलमा युक्रेनलाई ४–० गोलले पराजित गरेको थियो ।
Previous Article

नेपालमाला
