काठमाडौं : टोकियो ओलम्पिकको तयारीका लागि नेपाली पौडी टोली सोमबार जापान प्रस्थान गरेको छ । आगामी जुलाई २३ देखि सुरु हुने ओलम्पिकका लागि पौडीका एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार जापान प्रस्थान गरेको हो ।
पौडी खेलाडी एलेक्स शाह र प्रमुख प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रथान गरेका हुन् । पौडी खेलाडी शाह र गौरिका सिंहले टोकियो ओलम्पिक तयारीका लागि टोकुसिमा प्रान्तमा अभ्यास गर्ने छन् ।
टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्सले सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै छन् । गौरिका भने इङ्ल्यान्डबाटै ओलम्पिक तयारीका लागि टोकुसिमा प्रान्त पुग्नेछिन् । सन् २०२० को जनवरीमा नेपाल ओलम्पिक कमिटी र उक्त प्रान्तबीच ओलम्पिक तयारीका लागि नेपाली टोलीको पूर्वअभ्यास सम्बन्धी सम्झौता भएको थियो । सोहीअनुरूप नेपाली पौडी खेलाडीले केही समय अभ्यास गर्ने अवसर पाएका हुन् । टोकुसिमामा अभ्यासपछि उनीहरु आगामी जुलाई २० मा टोकियो ओलम्पिक भिलेज पुग्नेछन् ।
टोकियो ओलम्पिकमा गौरिका र एलेक्ससँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन् । यसअघि एथलेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक खेल्ने तयारी थियो । १३औं दक्षिण एसियाली खेलकुदमा पाँच हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले नेपालगन्ज म्याराथनको उपाधि जित्दै ओलम्पिकका लागि छनोट भएका थिए । तर, विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला एक सय मिटरमा कोटा दिएका कारण पार्कीको स्थानमा सरस्वती चौधरीले ओलम्पिक खेल्न लागेकी हुन् । म्याराथनमा कोटाभन्दा बढी आवेदन परेकाले नेपाललाई महिला एक सय मिटर दौडमा कोटा दिएको जनाइएको छ । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । यस पटकको ओलम्पिकमा ३३ खेलमा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।
Previous Article
नारायणगढ–मुग्लिन सडक पहिरोले काठमाडौंको आपूर्ति प्रभावित
Next Article

नेपालमाला
