रियो दी जेनेरियो : उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोलले पराजित गर्दै उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । अर्को एक गोल आत्मघाती रुपमा उपहार पाएको थियो ।
खेलको ४०औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । बल बचाउने क्रममा लाम्पले आफ्नै पोस्ट्को जाली चुमाएका थिए । त्यसपछि खेलको ७९औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को सहज जित दिलाए ।
यस जितसँगै उरुग्वेले तीन खेलबाट चार अंक जोडेको छ । समूह ‘ए’ मा रहेको उरुग्वे अहिले चौथो स्थानमा छ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये आठ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने भएकाले उरुग्वे पनि अन्तिम आठमा स्थान बनाएको हो ।
उरुग्वेसँग पराजय बेहोरेको बोलिभिया अंकविहीन रहँदै तालिकाको पुछारमा छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिसकेको छ ।
एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।
यस समूहमा सात अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको पराग्वेको ६, तेस्रो स्थानमा रहेको चिलीको पाँच अंक छ ।
शुक्रबार बिहान भएको खेलमा पराग्वेले चिलीलाई २–० गोलले पराजित गर्दै तीन अंक बटुलेको हो । पराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक÷एक गोल गरेका थिए ।
खेलको ३३औं मिनेटमा सामुले गोल गर्दै पराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिगुएलको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ५८औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई २–० को जित दिलाए ।
चिलीका ग्यारी मेडेलले कार्लोसलाई फल गरेपछि पराग्वेले पेनाल्टी पाएको थियो । जसमा मिगुएलले सहजै गोल गरे ।
यस जितसँगै पराग्वेले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ । पराग्वेसँग पराजय बेहोरेको चिलीले पनि यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

नेपालमाला
