म्युनिख : युरोकप फुटबलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पराजित गरेको हो । पोर्चुगलका खेलाडीले दुई गोल आफ्नै पोस्ट्मा गरेपछि जर्मनीले सहज जित निकालेको हो ।
युरोकपमा पहिलो जितपछि जर्मनीले दुई खेलबाट ३ अंक जोडेको छ । जर्मनीले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो ।
पहिलो खेलमा हंगेरीलाई ३–० ले पराजित गरेको साविक विजेता पोर्चुगलको पहिलो हार हो ।
जर्मनीको म्युनिखमा भएको खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, सुरुआतदेखि नै आक्रमक खेलेको जर्मनीले बराबरी गोल पर्काउन धेरै समय कुर्नुपरेन । ३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनीले खेल बराबरी गरेको थियो । यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले दुई गोल थपेपछि साविक विजेता पोर्चुगलले निकै संघर्ष गर्नुपरेको थियो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाएका थिए । यस्तै ६०औं मिनेटमा जोसुअ किमिचको पासमा रोबिन गोसेन्सले गोल गरेपछि जर्मनीले ४–१ को अग्रता बनायो । खेलको ६७औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरेका थिए ।
‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘डी’मा सबै टोलीले दुई खेल खेलेपछि फ्रान्स चार अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान तीन अंक छ भने हंगेरीको एक अंक छ । समूहमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्सको सामना गर्नेछ ।
पेनाल्टीमा चुक्दा स्पेन बराबरीमा रोकियो

१६औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको आफे दोस्रो खेलमा स्पेनले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदान सेभिलमा सुरुवाती अग्रता जोगाउन नसक्दा र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरेका थिए ।
तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । उनले कामिल जोजवियाकीको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड मोरेनोले प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको थियो ।
यससँगै समूह ‘ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले दुई खेलमा दुई अंक नै जोडेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
पोल्यान्डको भने यो पहिलो अंक हो । पोल्यान्ड दुई खेलमा १ अंक जोडेर पुछारमा छ । पहिलो खेलमा पोल्यान्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो । यो समूहमा चार अंकसहित स्विडेन पहिलो र तीन अंक जोडेको स्लोभाकिया दोस्रो स्थानमा छन् ।

नेपालमाला
