लन्डन : युरोकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा इङल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छन् ।
घरेलु मैदान वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इङल्यान्डले स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसका कारण खेल बराबरीमा सकिएको हो ।
पहिलो हाफको १२ औं मिनेटमा इङल्यान्डका जोन स्टोन्सको हेड बल पोस्ट्मा लागेर फर्किएको थियो । त्यसपछि पनि दुवै टोलीले गोलका लागि लगातार आक्रमण बुने पनि सफलता हात पार्न सकेनन् ।
यस बराबरीसँगै समूह ‘डी’ मा रहेको इङल्यान्डले दुई खेलबाट चार अंक जोडेको छ । इङल्यान्ड समूहको दोस्रो स्थानमा छ । पहिलो खेलमा इङल्यान्डले क्रोएसियालाई १–० गोलले पराजित गरेको थियो । स्कटल्यान्डको भने यो पहिलो अंक हो । स्कटल्यान्डले दुई खेलमा एक अंक मात्र जोड्न सकेको छ । तालिकाको पुछारमा रहेको स्कटल्यान्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोलले पराजित भएको थियो ।

समूह ‘डी’कै अर्को खेलमा क्रोएसियाले र चेक रिपब्लिकले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेल्दै एक/एक अंक बाँडेका हुन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता चेक रिपब्लिकले लिएको थियो । खेलको ३७औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टी पाएको थियो । जसलाई उनैले सदुपयोग गरेका थिए । खेलको ४७औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाएका थिए । उनले आन्द्रे कर्मारिचको पासमा गोल गरेका थिए ।
यस बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले दुई खेलमा एक अंक जोडेको छ । क्रोएसिया तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा क्रोएसिया इङल्यान्डसँग १–० गोलले पराजित भएको थियो ।
चेक रिपब्लिकले भने दुई खेलमा चार अंक जोडेको छ । चेक रिपब्लिक समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० गोलले हराएको थियो ।

नेपालमाला
