काठमाडौं : १० खेलाडीमा समेटिएको नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग सम्मानजनक हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।
शुक्रबार राति कुवेतको राजधानी कुवेत सिटीस्थित जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा समूह ‘बी’को आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियालाई रोक्न हरसम्भव प्रयास गरे पनि सफल हुन सकेन । नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले अस्ट्रेलियाको लगातार आक्रमणलाई विफल पारेका थिए । फिफाको पछिल्लो वरीयतामा ४१औं स्थानमा रहेको अस्ट्रेलियाले लगातार नेपालको पोस्ट्मा आक्रमण बुनेको थियो । खेलको सुरुवातदेखि नै आक्रमण बनाएको अस्ट्रेलियाले छैटौं मिनेटमा नै अग्रता बनाएको थियो । म्याथु लेकीले हेड गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा अस्ट्रेलियाले अग्रता दोब्बर बनाएको थियो । लेकीको बलमा फ्रान कारासिकले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम समयमा नेपाल १० खेलाडीमा समेटिएको थियो । खेलको ४५औं मिनेटमा अस्ट्रेलियाका मार्टिन बोयललाई फल गरेपछि रोहित चन्दले सिधै रातो कार्ड पाएका थिए । खेलको ५७औं मिनेटमा अस्ट्रेलियाले तेस्रो गोल गरेको थियो । मार्टिन बोयलले गोल गर्दै अस्ट्रेलियालाई ३–० को जित दिलाएका थिए । खेल अवधिभर जम्मा ३० प्रतिशत बलमाथि पक्कड जमाएको नेपालले अस्ट्रेलियाको पोस्ट्मा एउटै आक्रमण बुन्न सकेन ।
विश्वकप छनोटअन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अस्ट्रेलियासँग पहिलो लेगको खेल खेलेको थियो । अस्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार बेहोरेको थियो । क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग नेपाल ५–० गोलले पराजित भएको थियो ।

जितसँगै अस्ट्रेलिया फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ । विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना भने यसअघि नै सकिसकेको थियो । जोर्डनसँग ३–० गोलले पराजित भएपछि नेपालको विश्वकप छनोटको यात्रा औपचारिक रुपमै समाप्त भएको थियो । तर, सन् २०२३ मा हुने एसियन कपमा सीधै छनोट हुने सम्भावना सकिए पनि प्लेअफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी छ । अहिले भइरहेको छनोटबाट उत्कृष्ट १२ टोली एसिया कपमा सीधै छनोट हुनेछन् भने त्यसपछि १६ टिम एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । एसिया कपमा २४ टिमले प्रतिस्पर्धा गर्ने भएकाले बाँकी १२ स्थानका लागि तेस्रो चरणको छनोट हुनेछ । त्यसमा थप आठ टिम प्लेअफबाट आउनेछन् । नेपालले पनि प्लेअफबाटै तेस्रो चरणमा पुग्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर, त्यसको टुंगो सबै समूहको खेलपछि मात्रै लाग्नेछ ।
नेपालको घरेलु मैदानमा हुनुपर्ने विश्वकप छनोटका खेल कोरोना महामारीका कारण कुवेतमा सञ्चालन गरिएको हो । नेपालमा कोरोना महामारी बढेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रूपमा कुवेतलाई रोजेको हो । कुवेतमा नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

विश्वकप छनोटको खेलमा नेपालले आठै खेल खेलिसकेको छ । आठमध्ये दुई खेलमा जित निकालेको नेपालले ६ खेलमा भने पराजय बेहोरेको थियो । नेपालले चाइनिज ताइपेईलाई दुवै लेगको खेलमा पराजित गर्दै ६ अंक जोडेको छ । नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो । यस्तै जोर्डनसँगको दुवै खेलमा समान ३–० गोलले हार बेहोरेको थियो । अस्ट्रेलिया भने अहिलेसम्म अपराजित छ । अस्ट्रेलियाले खेलेका सात खेलमै जित निकाल्दै २१ अंक जोडेको छ । १३ अंक जोडेको जोर्डन दोस्रो र १० अंक रहेको कुवेत तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ ।

नेपालमाला
