काठमाडौं : पूर्व बक्सिङ खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन भएको छ । उनको कोरोनाका कारण बिहीबार निधन भएको नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले जानकारी दिएका छन् ।

‘उहाँको असामयिक निधनले नेपाल बक्सिङ संघ मर्माहत भएको छ’, महासचिव भट्टाचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली बक्सिङले एक होनहार सपुतलाई गुमाउनु परेको छ । उहाँले नेपाली बक्सिङको विकास र विस्तारमा पु¥याउनु भएको योगदान सदा स्मरणीय रहने छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजत पदक जितेका थिए । यस्तै भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुदमा पनि उनले कांस्य पदक जितेका थिए । सक्रिय खेलाडी जीवनलाई टुङ्ग्याएर पनि उनी बक्सिङकै विकास र विस्तारमा सक्रिय रुपमा लाग्दै आएका थिए ।
केसीले पछिल्लो समय प्रशिक्षणसँगै रेफ्री जर्ज (आरजे)को भूमिका पनि निर्वाह गर्दै आएका थिए । उनले स्वदेशमा आयोजना भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आरजेको भूमिका निर्वाह गरेका थिए ।

नेपालमाला
