काठमाडौं : काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका छन् ।

नेपालमाला
