काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई बढारेर कानुनी राज स्थापना गर्ने दायित्व आफूहरुमा आएको बताएका छन् ।
एमालेका वरिष्ठ नेतासमेत रहेका नेपालले अहिलेसम्म आइपुग्दा ओलीले नेपाली जनता, कार्यकर्ता, लोकतन्त्र र सिंगो कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गरेको भन्दै यस्तो बताएका हुन् । नेता नेपालले ओलीको गद्दारीविरुद्ध प्रतिरोधमा उत्रिनुपर्ने अवस्था बनेको उल्लेख गरे ।
‘आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ’, मंगलबार एक अपील सार्वजनिक गर्दै नेता नेपालले भने, ‘त्यसैले अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’
एमालेबाट आफूसहित ११ नेतालाई निष्काश गर्नुको कुनै अर्थ नभएको नेपालले बताएका छन् । ओली विचौलियाको पुष्ठपोषक बनेर एमालेको संगठन निस्तेज पार्न लागेको भन्दै उनले यस्तो बताएका हुन् । पार्टीका निष्ठावान, इमान्दार कार्यकर्तामाथि दलाल र माफियाले राज गरेको विरोध गर्दा कारवाही र निष्काशनमा परेको भन्दै उनले यसतो बताएका हुन् ।
‘ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो। निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाले राज गरे’, अपीलमा नेता नेपालले भनेका छन्, ‘यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारबाही वा निष्काशन त्यसैको प्रतिरुप हो । उक्त कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।’

नेपालमाला
