काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’
जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको प्रधानमन्त्री ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनु हुँदैन ।’
उनले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको बताए । प्रधानमन्त्री ओलीले अघि भने, विभन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’
त्यसैगरी ओलीले यो लडाइँ आफ्नो लागि नभएको दाबी गरेका छन्। उनले आफ्ना लागि मान्छेले ज्यान जोखिममा राख्न नसक्ने भन्दै यो लडाइँ आफ्ना लागि नभएको बताएका हुन्। ‘मेरो लडाइँ आफ्ना निम्ति होइन। जब मान्छे बृहत् लक्ष्यका लागि लड्छ तबमात्र ज्यान जोखिममा राख्नसक्छ। मैले सधै ज्यान गोखिममा राखेको छु’, ओलीले भने।
आफूले गराउने चुनाव निष्पक्ष हुने दाबी गर्दै ओलीले आफू लोकतान्त्रिक आचरणभन्दा बाहिर नजाने दाबी गरे। लोकतान्त्रिक आचारणभित्र रहेरै निष्पक्ष चुनाव गर्ने उनको भनाइ छ।
‘मैले गराउने चुनाव निष्पक्ष हुन्छ, लोकतान्त्रिक आचारण भन्दा बाहिर गएर चुनाव हुँदैन’, ओलीले भने, ‘मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा हुनेछ। स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ त्यसमा ढुक्क हुनुहोस्।’
चार मान्छेको ‘अगस्त्य’ महत्वकांक्षाले देश बिग्रदैछ
ओलीले चारजना ७० कटेका मान्छेको महत्वकांक्षाले देश बिग्रदै गएको बताए। ओलीले पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सभापति बनेका, १५ वर्ष पार्टी नेतृत्व गरेका मान्छे नै अहिले लडाइँ लडिरहेको भन्दै उनीहरुको अतृप्त भोकलाई कहिल्यै चित्त बुझाउन नसकिने भन्दै अगस्त्य शैली भएको बताएका हुन्।
‘कुनै भ्रममा नपर्नुहोस्। अहिले अस्वस्थता मच्चाउने को छन् ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन्। युवाको भविष्य र बालबालिकाको भविष्य होइन। आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘१५-१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे। फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन्। यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ। त्यस महत्वकांक्षाले देश बिग्रदैछ।’
ओलीले आफूविरुद्ध सक्रिय चार नेतालाई अगस्ति ऋषिको संज्ञा दिएका हुन्। पुराणमा वर्णित कथा अनुसार अगस्ति भनेका समुन्द्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि हुन्। अगस्ति ऋषि मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेको मानिन्छ। ओलीले पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईतर्फ लक्षित गर्दै अगस्तिको संज्ञा दिएका हुन्।

नेपालमाला
