नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

काठमाडौं : काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्सलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट खोस्दै उपलब्ध गराएको बललाई मेसौकेले जाली चुमाएका थिए । उनले धनगढीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । मेसौकेले लिगमा आफ्नो आठौं गोल पनि पूरा गरेका थिए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।
खेलमा दुवै टोलीले गोलको थुप्रै अवसर पाएका थिए । तर, त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलको २९औं मिनेटमा धनगढीका दिनेश राजवंशीले मेसौकेलाई फल गरेपछि काठमाडौंले फ्रिकिक पाएको थियो । करिब २५ यार्डबाट स्टेफेन बिनोङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३९औं मिनेटमा धनगढीका बुद्ध बल तामाङको पासमा रूपेश केसीको प्रहारले पोस्ट्को दिशा लिन सकेन । पहिलो हाफको इन्जुरी समयमा तेज तामाङको पासमा मेसौकेले धनगढीका डिफेन्डर अशोक खवासलाई बिट गर्दै गरेको प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा काठमाडौंका गोलरक्षक विकेश कुथु केही व्यस्त बन्न पुगे । धनगढीले लगातार पोस्ट आक्रमण गर्दा उनी व्यस्त बनेका थिए । खेलको ४६औं मिनेटमा धनगढीले गोलको सुनौलो अवसर गुमायो । काठमाडौंका गोलरक्षक विकेश कुथुले फुत्काएको बलमा बुद्ध बलले प्रहार गरेको बल फ्लोरेन्टलाई लाग्दै बाहिरिएको थियो । ५३औं मिनेटमा धनगढीका मार्की खेलाडी विशाल राईले गोलको अवसर गुमाएका थिए । अनमार्क रहेका उनको हेड बलले पोस्टको दिशा लिन सकेन । ५५औं मिनेटमा अशोक खवासको लामो प्रहारलाई काठमाडौंका गोलरक्षक विकेश कुथुले जोगाएका थिए । ६५औं मिनेटमा स्टेफेन बिनोङको प्रहार धनगढीका गोलरक्षक किरण चेम्जोङले मुस्किलले बचाएका थिए ।
खेलको ७४औं मिनेटमा मेसौकेको लामो फ्रिकिक बल पोस्ट बारमा लाग्दै फर्किंदा काठमाडौं अग्रता दोब्बर बनाउन चुकेको थियो । ८३औं मिनेटमा धनगढीका पूजन उपरकोटीको प्रहार गरेको बल बारको केही माथिबाट बाहिरिएको थियो । यस्तै खेलको अन्तिम समयमा स्टेफेन बिनोङको प्रहारलाई धनगढीका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए ।
खेलमा काठमाडौंका फ्लोरेन्ट कोएरा प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दी म्याच काठमाडौंकै राजन गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । पहिलो संस्करणको उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको धनगढीले १५ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट चुनिए । यसैगरी ललितपुर सिटी एफसीका कप्तान अञ्जन विष्ट उत्कृष्ट फरवार्ड, उपाधि विजेता काठमाडौं रेजर्सका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर, धनगढीका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर, धनगढीकै किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक र काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको प्लेयर प्लेको उपाधि भने बुटवल लुम्बिनी एफसीले जित्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेता कार्की चौधरीलगायतले पुरस्कार प्रदान गरे ।
काठमाडौंले धनगढीविरुद्ध अघिल्ला दुई भेटमा बेहोरेको हारको बदलासमेत लिएको छ । समूह चरणमा काठमाडौं धनगढीसँग ३–० र प्लेअफ खेलमा अतिरिक्त समयमा २–१ गोलले पराजित भएको थियो ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गरेको पहिलो संस्करणको लिगमा सात फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता वैशाख ११ गतेदेखि बन्द रंगशालामा सञ्चालन गरिएको थियो । कोरोना भाइरसको महामारी बढेपछि प्रतियोगिताका खेलहरू दर्शकविहीन रंगशालामा खेलाइएको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments