नेपाल सुपर लिग : ललितपुरले क्वालिफायर खेल्ने

काठमाडौं : ललितपुर सिटी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको एलिमिनेटर खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित गर्दै ललितपुरले क्वालिफायरमा स्थान बनाएको हो ।
ललितपुरलाई जित दिलाउन कप्तान अञ्जन विष्टले निर्णायक गोल गरे । मिक्छेन तामाङले उपलब्ध गराएको पासमा अञ्जनले डाइभ हेडमा उत्कृष्ट गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि थुप्रै अवसर बनाएको थियो । तर, ललितपुरले मात्र एउटा अवसरलाई सदुपयोग गर्न सक्यो । बुटवल लुम्बिनीका खेलाडीले पाएका अवसर पटक पटक गुमाउँदा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको तेस्रो मिनेटमै अभिषेक रिजालको हेड बल पोस्ट माथिबाट बाहिरिँदा बुटवल अग्रता बनाउनबाट चुकेको थियो । १२औं मिनेटमा ललितपुरका डोना थापाको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । १९औं मिनेटमा डिबक्सभित्र अनमार्क रहेका बुटवलका विलियम्स आसिदेउको प्रहार बाहिरिएको थियो । २५औं मिनेटमा ललितपुरका नुर्लान जाहिदको प्रहार बुटवलका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।
यसैगरी खेलको ३१औं मिनेटमा बुटवलका ओमोलाजा करिमको फ्रिकिकमा आशिष लामाको हेड बललाई ललितपुरका गोलरक्षक अर्पण कार्कीले विफल पार्न निकै मेहनत गर्नु परेको थियो । ३३औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । ४०औं मिनेटमा बुटवलका विलियम वान भर्सेस वानमा गोल गर्नबाट चुके । उनको प्रहार ललितपुरका गोलरक्षक अर्पणले उत्कृष्ट बचाउ गरेका थिए । ५६औं मिनेटमा नुर्लानको प्रहारले पोस्टको दिशा लिन सकेन । ६५औं मिनेटमा आशिष लामाको सशक्त प्रहार पनि खेर गएको थियो । ७९औं मिनेटमा करिमको प्रहार पोलमा लाग्दै फर्किंदा बुटवल बराबरी गर्न चुकेको थियो । सोही बलमा सुमन लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ८५औं मिनेटमा ललितपुरका कमल श्रेष्ठको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्यो ।
बुधबारको खेलमा ललितपुरका गोलरक्षक अर्पण कार्की प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार पुरस्कार प्राप्त गरे । यसैगरी इमर्जिङ प्लेयर अफ दी म्याच ललितपुरकै मिक्छेन तामाङ बन्न सफल भए । उनले १० हजार रुपैयाँ पुरस्का पाए ।
ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौं रेजर्सको सामना गर्नेछ । प्लेअफ खेलमा धनगढी एफसीसँग पराजित काठमाडौंले फाइनल प्रवेशका लागि दोस्रो पटक क्वालिफायर खेल्ने अवसर पाएको हो । बुटवल लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुर र काठमाडौंबीचको खेल बिहीबार हुनेछ । यस खेलमा ललितपुर काठमाडौंसँग बदला लिने अभियानमा हुनेछ । लिग चरणको खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १–० गोलले पराजित भएको थियो । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीको सामना गर्नेछ ।
नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments