काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफका खेलहरू मंगलबारदेखि सुरु हुँदैछ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको लिगमा सात टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
लिगको शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच मंगलबार प्लेअफको पहिलो खेल हुँदैछ । सो खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले बुटवल लुम्बिनी र ललितपुर एफसीबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । बुटवल र ललितपुरले बुधबार खेल्ने छन् ।
काठमाडौं लिगमा चार खेल जित्ने एक मात्र टोली हो । ६ खेलमध्ये काठमाडौंले चार खेलमा जित, एक बराबरी र एक हार गरी १३ अंक जोड्यो । पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको काठमाडौं धनगढीसँग भने ३–० गोलले पराजित भएको थियो । काठमाडौंलाई त्यही हारको बदला लिने अवसर प्लेअफमा मिलेको छ ।
उद्घाटन खेलमै ललितपुर सिटीलाई १–० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमै पुनरागमन गरेको धनगढीले ६ मध्ये तीन खेलमा जित निकाल्दा दुई खेलमा हार बेहो¥यो भने एक खेल बराबरी खेलेको थियो ।
धनगढी राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको नेतृत्वमा छ भने काठमाडौंको कप्तानी विकेश कुथुले सम्हालिरहेका छन् । भारतीय आई लिग खेलेका किरण विदेशी कोटामै आइकोनिक प्लेयरका रूपमा धनगढीमा अनुबन्ध भएका हुन् । विकेश काठमाडौंका मार्की खेलाडी हुन् ।
काठमाडौंमा विकेशसँग तेज तामाङ, सञ्जोग राई, विश्वास श्रेष्ठलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काठमाडौंले विदेशी खेलाडीको समेत राम्रो साथ पाएको छ । विराटनगरलाई ५–४ ले पराजित गर्दा काठमाडौंका मेसौके ओलोमोउले लिगको पहिलो ह्याट्रिक गरेका थिए । यस्तै स्टेफेन विनोङ र फ्लोरेन्ट कोयराले पनि राम्रो साथ दिइरहेका छन् ।
धनगढीका मुख्य हतियार नाइजेरियन खेलाडी ओलावाले आफिस रहेका छन् । उनले चार गोल गरिसकेका छन् । यस्तै विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, निशान खड्का, सौजन राई र बुद्धबल तामाङले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सोमबार प्रिम्याच कन्फरेन्समा बोल्दै काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले सबै खेलाडी शतप्रतिशत फिट हुनुका साथै उत्साहित पनि रहेकाले प्लेअफ खेल जितेर आफ्नो टोलीले फाइनलमा स्थान बनाउने दाबी गरे । ‘हाम्रा सबै खेलाडी फिट छन् । उत्साहित पनि छन्’, उनले भने, ‘प्लेअफमा उत्कृष्ट खेल खेल्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा छौं ।’ यसैगरी कप्तान विकेश कुथुले लिग चरणका खेलमा सुखद नतिजा निकालेकाले सबैले उत्कृष्ट खेल खेल्ने बताए ।
धनगढी एफसीका प्रशिक्षक तोपे फुजाले टोलीले राम्रो प्रदर्शन गर्ने दाबी गरे । ‘लामो तयारीको अवसर नपाउँदा पनि खेलाडीले राम्रो खेल्दै आएका छन्’, उनले भने, ‘त्यसैले प्लेअफमा पनि राम्रो प्रदर्शन गर्नेमा आशावादी छु ।’ धनगढीका कप्तान किरण चेम्जोङले सबै खेलाडी राम्रो खेल खेल्नका लागि मानसिक रूपमा तयार रहेकाले जित्नकै लागि खेल्ने बताए ।
प्रिम्याच कन्फरेन्समा बुटवल लुम्बिनी एफसीका प्रशिक्षक उज्ज्वल मानन्धरले राम्रो तयारी रहेकाले टोलीले जितका लागि खेल्ने बताए । यस्तै कप्तान विराज महर्जनले सबै खेलाडी फिट र लयमा रहेकाले प्लेअफका खेल उत्कृष्ट हुने बताए । ‘हामीले राम्रो तयारी गरेका छौं । सबै खेलाडी फिट पनि छन्’, उनले भने ।
यसैगरी ललितपुर सिटीका प्रशिक्षक राजु तामाङले लिग चरणमा टोली अप्ठ्यारो अवस्थाबाट गुज्रिएको बताउँदै अहिले सबै खेलाडी फर्ममा फर्किएकाले उच्च मनोबल लिएर खेल्ने बताए । यस्तै कप्तान अन्जन विष्टले पुरानै शैलीमा राम्रो खेल खेल्ने बताए ।
जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
०००
Previous Article
नयाँ सरकार गठन : फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक !
Next Article

नेपालमाला
