काठमाडौं : काठमाडौं रेजर्सले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्ने भएको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोलले पराजित गर्दै काठमाडौंले शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र सञ्जोक राईले एक/एक गोल गरे । चितवनका राजीव लोप्चनले सान्त्वना गोल फर्काए ।
खेलको १७औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । विश्वास उदासको लामो पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै मेसौकेले गोल गरेका थिए । खेलको ३४औं मिनेटमा सञ्जोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा सञ्जोकले गोल गरेका थिए ।
खेलको ३८औं मिनेटमा चितवनका जर्जप्रिन्स कार्कीको क्रसमा सुनील श्रेष्ठको फ्री हेड बलले पोस्ट्को दिशा लिन सकेन । खेलको ४० औं मिनेटमा राजिब लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा पु¥याए । सुनील श्रेष्ठको प्रहार काठमाडौंका गोलरक्षक विनय श्रेष्ठको हातबाट फुत्किएको बललाई राजीवले जाली चुमाएका थिए । ४४औं मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले करिब २५ यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्टमा लाग्दै बाहिरिएको थियो । ५५औं मिनेटमा जर्जप्रिन्सको पासमा चितवनका राजीव लोप्चन गोल गर्न चुकेका थिए । ८१औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलरक्षकसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाएका थिए । प्रिजेनको कडा प्रहार चितवनका गोलरक्षक रोमन रसाइलीको टाउकोमा लाग्दै बाहिरिएको थियो । यस्तै ८४औं मिनेटमा प्रिजेनले पेनाल्टी क्षेत्रबाट गोल गर्न सकेनन् । उनको प्रहार चितवनका गोलरक्षक रोमनले उत्कृष्ट बचाउ गरेका थिए ।
आइतबारको खेलको प्लेयर अफ दी म्याच काठमाडौंका तेज तामाङ चुनिए । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर अफ दी म्याच काठमाडौंका विश्वास उदास घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
जितसँगै काठमाडौंले ६ खेलबाट १३ अंक जोड्यो । काठमाडौंले प्लेअफमा दोस्रो स्थानमा रहेको धनगढी एफसीसँग मंगलबार खेल्नेछ । चितवनले भने पुछारमा रहँदै प्रतियोगिताको अन्त्य ग¥यो । चितवनले ६ खेलमा दुई अंक मात्र जोड्न सक्यो ।
काठमाडौं र धनगढीले क्वालिफायर खेल्दा ललितपुर र बुटवल लुम्बिनीले बुधबार एलिमिनेटर खेल खेल्नेछन् । क्वालिफायरमा जित निकाल्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
Previous Article

नेपालमाला
