काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ । प्लेअफमा धनगढी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी र बुटवल लुम्बिनी एएफसी पुगेका छन् । लिगको शीर्ष टोलीको टुंगो भने आइतबार हुने काठमाडौं र चितवनबीचको खेलपछि मात्रै टुंगो लाग्नेछ ।
लिगमा १० अंकका साथ धनगढी शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको काठमाडौंको पनि १० अंक नै छ । यसैगरी तेस्रो स्थानमा रहेको ललितपुरको नौ र चौथो स्थानको बुटवल लुम्बिनीको आठ अंक छ । बुटवल लुम्बिनी पोखरा थन्डर्सलाई हेड टु हेडमा पछि पार्दै प्लेअफमा पुगेको हो । पाँचौं स्थानमा रहेको पोखरा थन्डर्सको पनि आठ अंक नै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सीमित भएको विराटनगर सिटी एफसीलाई ४–० गोलले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान सुरक्षित ग¥यो । ललितपुरलाई प्रभावशाली जित दिलाउन कप्तान अञ्जन विष्टले दुई गोल गरे । यस्तै विमल राना र नुर्लान नोरजुजोभ जाहिदले एक÷एक गोलको योगदान दिए ।
तनावग्रस्त बनेको खेलमा दुवै टोलीले सुरुवातबाटै आक्रामक खेल खेलेका थिए । खेलको ३६औं मिनेटमा अञ्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । खेलको ६३औं मिनेटमा ललितपुरले अगता दोब्बर बनायो । अञ्जन विष्टले दिएको पासमा विमल रानाले गोल गरेका थिए । ललितपुरले दोस्रो गोल गरेपछि खेल तनावग्रस्त बनेको थियो । रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै विराटनगरका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । करिब १० मिनेटपछि विराटनगरका खेलाडी मैदान फर्किएका थिए ।
८१औं मिनेटमा अञ्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता दिलाए । कमल श्रेष्ठको फ्रिकिकमा अञ्जनले हेडिङमा गोल गरेका थिए । ८५औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटिएको थियो । कप्तान रञ्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । विमल रानालाई तानेर लडाएपछि रेफ्रीले उनलाई दोहोरो पहेलो कार्ड देखाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए । मैदानको बिच भागबाट एक्लै अगाडि बल बढाउँदै उनले गोल गरेका थिए ।
ललितपुरका कप्तान अञ्जन विष्ट लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दी म्याच ललितपुरकै डोना थापा घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
यसैगरी अर्को खेलमा शीर्ष स्थानमा रहेको धनगढीलाई १–० गोलले पराजित गर्दै बुटवल लुम्बिनीले प्लेअफमा स्थान बनायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे ।
सुरुवातदेखि नै आक्रामक खेल खेलेको बुटवल लुम्बिनीले खेलको ८०औं मिनेटमा अग्रता बनाएको थियो । विलियम आसिइदेउले उपलब्ध गराएका पासमा सुमन लामाले उत्कृष्ट गोल गरेका थिए ।
खेलमा बुटवल लुम्बिनीका विलियम आसिइदेउ प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर अफ दी म्याचको पुरस्कार भने बुटवल लुम्बिनीकै सुमन लामा घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
सात टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । धनगढी र काठमाडौंले क्वालिफायर खेल्ने छन् । यस्तै ललितपुर र बुटवल लुम्बिनीले खेल्ने छन् । क्वालिफायरमा जित निकाल्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
Previous Article
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
Next Article

नेपालमाला
