काठमाडौं : काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । बिहीबार भएको खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोलले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान बनाएको हो । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोउमोउले ह्याट्रिक गरे । यस्तै स्टेफन विनोङ र छिरिङ गुरुङले एक÷ एक गोल थपे । विराटनगरका पेड्रो मान्जीले दुई तथा एडिलाजा सोमिडे र रञ्जित धिमालले एक÷एक गोल गरे ।
दुई गोलले पछि पारेको अवस्थालाई उल्टाएर काठमाडौंले उत्कृष्ट जित निकालेको हो । खेलको छैटौं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । कप्तान रञ्जित धिमालको लामो क्रसमा एडिलाजाले उत्कृष्ट गोल गरेका थिए । ३३औं मिनेटमा पेड्रोले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए । उनले सन्तोष तामाङको लामो पासमा गोल गरेका थिए ।
खेलको ३५औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काए । त्यसको एक मिनेट नबित्दै मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरी गरेका थिए । ४१औं मिनेटमा स्टेफन विनोङले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट पाएको फ्रिकिकमा स्टेफनले उत्कृष्ट गोल गरेका थिए । ६८औं मिनेटमा मेसौकेले ह्याट्रिक पूरा गरे । करिव ६ यार्डबाट उनले प्रहार गरेको बल दोस्रो बारमा लाग्दै पोस्ट्भित्र छिरेको थियो । मेसौके जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
खेलको ७९औं मिनेटमा विराटनगरका कप्तान रञ्जित धिमालले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । ८३औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५–३ को अग्रता दिलाए । उनले मेसौकेले दिएको बललाई एक्लै अगाडि बढाउदै उत्कृष्ट गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै भिन्नता कम गरेका थिए । एडिलाजाले दिएको पासमा पेड्रोले गोल गरेका थिए ।
काठमाडौंका मेसौके प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दी म्याच काठमाडौंका विश्वास श्रेष्ठ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
जितसँगै काठमाडौंले पाँच खेलबाट १० अंक जोडेको छ । काठमाडौं लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । यसअघि नै प्लेअफमा पुगिसकेको धनगढीसँग अंक बराबरी गरे पनि काठमाडौं गोल भिन्नतामा दोस्रो स्थानमा रहेको हो । विराटनगरले पाँच खेलमा सात अंक जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा छ ।
यसैगरी बिहीबार नै भएको अर्को खेलमा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हराउँदै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । ललितपुरलाई जित दिलाउन नुर्लान जाहिदले निर्णायक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुटवलविरुद्ध ललितपुर सुरुवातबाटै आक्रमक देखिएको थियो । खेल सुरु भएदेखि नै गोलको अवसर बनाएको ललितपुर सुरुवातमै गरेको गोलबाट जित निकाल्न सफल भयो । खेलको पाँचौ मिनेटमा नुर्लान जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका थिए । त्यही गोल खेलको निर्णायक पनि बन्यो । कप्तान अन्जन विष्टको पासमा अनमार्क रहेका नुर्लानले हेड गोल गरेका थिए ।

खेलको पाँच मिनेटभित्रै गोल गरेको ललितपुरले आक्रामक खेललाई अन्तिम समयसम्म जारी राख्यो । लगातार पोस्ट् आक्रमण गरे पनि अरु गोल भने थप्न सकेन । ललितपुरको तुलनामा बुटवलले कमै मात्र पोस्ट् आक्रमण गरेको थियो ।
ललितपुरका कप्तान अञ्जन विष्ट खेलको प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार पुरस्कार प्राप्त गरे । यसैगरी इमर्जिङ प्लेयर अफ दी म्याचको पुरस्कार पनि ललितपुरकै मिक्छेन तामाङलाई प्रदान गरियो । उनले १० हजार रुपैयाँ पाए । जितसँगै ललितपुर लिगको चौथो स्थानमा उक्लिएको छ । ललितपुरले पाँच खेलमा ६ अंक जोडेको छ । ललितपुरले प्लेअफ पुग्ने सम्भावना पनि कायमै राखेको छ । बुटवल लुम्बिनी भने पाँचौं स्थानमा झरेको छ । बुटवलले पाँच खेलमा पाँच अंक जोडेको छ ।

नेपालमाला
